काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक दरबार हाईस्कुलको हाताभित्र सञ्चालित दुई विद्यालयलाई एक बनाएर पुरानै अस्तित्वमा फर्काउने जनाएको छ ।
एउटै भवनामा दुई विद्यालय सञ्चालन हुँदा दरबार हाईस्कुलको अस्तित्व खुल्न नसकेको भन्दै संस्कृत माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयको नाम हटाएर एउटै नाम ‘दरबार हाईस्कुल’ बाट सञ्चालन गर्न लागेको काठमाडौं महानगरपालिकाले जानाएको छ । काठमाडौं महानगरपालिकाको शिक्षा विभागका प्रमुख सिताराम अधिकारीका अनुसार आउने शैक्षिक सत्रदेखि एउटै नामले विद्यालय सञ्चलान हुनेछ । एक हजार विद्यार्थीको क्षमता रहेको यस विद्यालय भवनमा एउटै व्यवस्थापनले सञ्चालन गर्ने छन् ।
कोइरालाले भने, “भानु माध्यमिक विद्यालय र संस्कृत माध्यमिक विद्यालयपछि बनाएकाले सुरुकै अस्तित्वमा स्वीकार्न दरबार हाईस्कुलकै नामले सञ्चालन गर्न लागिएको हो ।” १९१० सालमा राणाका छोराछोरी पठनपाठन गराउने उद्देश्यले तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाका पालामा उक्त विद्यालय स्थापना भएको थियो । लामो इतिहास बोकेको विद्यालय भएकाले पनि यसको अस्तित्व जोगाउनु काठमाडौं महानगरपालिकाको कर्तव्य हो उनले भने ।
ऐतिहासिक मात्रै होइन उक्त विद्यालय हाल काठमाडौं महानगरपालिकामा रहेको ८९ सामुदायिक विद्यालय र तीन नमूना विद्यालयमध्ये एक हो । गत आवदेखि काठमाडौं महानगरपालिकाले यसलाई नमूना विद्यालयको रुपमा सञ्चालन गर्दै आएको छ । ऐतिहासिक धरोहर मानिने दरबार हाईस्कुलमा कुनै समय विद्यार्थीको अभावमा जेनतेन सञ्चालित भए पनि पछिल्लो समय नवनिर्मित भवन, सफा खाजा घर तथा थोरै लगानीमा अङ्ग्रेजी माध्यममा पढाइ हुने भएपछि अहिले भने प्रशस्त विद्यार्थी छन् ।
ऐतिहासिक र पुरानो विद्यालय भएकाले सुरुको समयमा सम्पन्न परिवारका छोराछोरीले मात्र अध्ययन गर्ने गरेका थिए । कुनै समय श्रमिकका छोराछोरी मात्र पढ्ने गरेको यस विद्यालयमा अहिले सरकारी कर्मचारी तथा स्थानीयवासीका छोराछोरीको आकर्षण बढी रहेको विद्यालय व्यवस्थापनले जानाएको छ ।
आठ वर्षअघिको भूकम्पपछि पुरानै स्वरूपमा पुनःनिर्माण गरिएको उक्त स्कुल नौ रोपनी जमिनमा निर्माण गरिएको चार तले सो विद्यालय भवनमा ४० कक्षा कोठा छन् । भूकम्पपछि चीन सरकारको पूर्ण सहयोगमा चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले उक्त विद्यालय भवन निर्माण गरेको हो ।
भूकम्पपछि उक्त स्कुल पुनःनिर्माणको शिलान्यास २०७५ साल साउन १८ गते गरिएको थियो । विसं २०७७ कात्तिक ५ गते तत्कालीन राष्ट्र प्रमुख विद्यादेवी भण्डारीले रानीपोखरी पुनःनिर्माणसँगै सो विद्यालय भवन उद्घाटन गरेपछि पुनःसञ्चालनमा आएको हो ।



