images
images

बेनी–जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम


  • 542
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    बेनी–जोमसोम सडकमा दश स्थानमा पहिरोका जोखिम

    काठमाडौं । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक खण्डमा १० स्थानमा ठूलो पहिरोको जोखिम रहेको  अध्ययनबाट पहिचान भएको छ । म्याग्दीको बेनीबाट मुुस्ताङको घाँससम्मको ४० किलोमिटर दूरीको सडक पहिरोबाट प्रभावित छ । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बेनी–घाँसा खण्डका पहिरोको विस्तृत अध्ययन थालिएको जानकारी दिए । 

    “सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यही अनुरुप डिपिआर निर्माण नगरिएकाले अहिले समस्या आएको छ”, उनले भने, “अहिले कम्तीमा १० वटा ठूला पहिरोको पहिचान गरी विस्तृत अध्ययन सुरु गरेका छौँ ।”

    उनका अनुसार रघुगङ्गा गाउँपालिका–३ गलेश्वर पारिको राहुघाट, अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से, जलथले–खामभित्ता क्षेत्रको पहिरो विस्तृत अध्ययन सम्पन्न गरी रोकथाम तथा संरक्षणको काम थालिएको छ । रघुगङ्गा गाउँपालिका–२ बैंसरी खण्डको पहिरो नयाँ हो । यो पहिरोको विस्तृत अध्ययन गर्ने योजना बनाएको जानकारी उनले दिए । 

    बैंसरी खण्डका साथै अन्नपूर्ण गाउँपालिका–३ मा पर्ने रुप्से झरनाबाट काभ्रेभिर क्षेत्रमा करिब पाँच सय मिटर क्षेत्रमा माथिबाट पहिरो झर्ने र तलबाट सडक भासिने गर्छ । त्यस्तै सोही वडाको खाम भित्ता, गुइँठेभिर, लाटाखोलामा पनि बर्सेनि निरन्तर माथिबाट पहिरो झर्ने गरेको छ । यस्तै अन्नपूर्ण गाउँपालिका–२ मा पर्ने नागढुङ्गा, भुरुङभिर, वडा नं ६ मा पर्ने टिम्मुरेभिर क्षेत्रको साँघुरो भूगोल, छेउकै कालीगण्डकी नदी र बारम्बार माथिबाट खस्ने पहिरोले सडक जोखिम बनाएको छ ।

    रघुगङ्गा गाउँपालिका वडा नं १ बेगखोला, वडा नं २ मासखर्क, कुनौटो, रिठाबोट, वडा नं ३ मा पर्ने चमेरे र गलेश्वर पारि पहिरोको जोखिम छ । भूगर्भविद्हरूले गरेको अध्ययनअनुसार कमजोर भूगोल रहेका गलेश्वर, खामभित्तामा तल निर्मित सडकले बलियो संरक्षणका संरचना नबनाएको र माथिल्लो खण्डमा पनि संरक्षणबिना डोजर चलाएर सडक खनिएकाले पहिरो गएको देखाएको छ ।

    सडक निर्माण सुुरु गर्नुअघि सम्भावित पहिरो जाने स्थानको पहिचान र रोकथामका लागि कुनै अध्ययन गरिएको थिएन । जसका कारण अहिले सडकमा पहिरोले जोखिम निम्त्याएको छ । पहिरोका कारण वर्षात्का समयमा यातायात प्रभावित हुने गरेको छ । यात्रुले सास्ती भोग्दै आएका छन् । 

    बेनी–जोमसोम–कोरोला सडकको सर्भे, डिजाइन गर्दादेखि ठेक्का भई सडक निर्माण भइरहँदा कतै पनि पहिरोको अवस्था अध्ययन गरिएको थिएन । करिडोरको म्याग्दी खण्डको सडकको अधिकांश भागमा पहिराको जोखिम छ । 

    बेनीबाट घाँससम्म बर्सेनि पहिराले दुःख दिने गरेको छ भने सवारी दुर्घटना पनि निम्त्याएको छ । पहिराले दुःख दिन थालेपछि एक वर्षयता भूूगर्वविद्को टोलीबाट पहिरोको विस्तृत अध्ययन भइरहेको आयोजना प्रमुख प्रजापतिले बताए ।


    images
    images

    Logo