काठमाडौँ । डोको, ठेकी, मान्द्रो बनाउने उद्यमीले १० लाख रुपैयाँ पाउने भएका छन् । वाग्मती प्रदेश सरकारले अति निम्न उद्यमी किसानलाई १० लाख रुपैयाँ दिने भएको हो ।
कोरानाका कारण गाउँ गएका र हातमा सीप भएका विपन्न वर्गको आर्थिकस्तर उकास्न उक्त रकम दिएर उद्यमी बनाउने वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले बताए । सो रकमको लगानी साना पौरखी हातका लागि भएकाले मान्द्रो, डोको, ठेकी बनाउनेले पाउने उनले बताए ।
ठूलो रकम ऋण लगानी गर्दा टाठाबाठाको हातमा मात्र पुग्ने र लक्षित वर्ग प्रभावित नहुने कारण सानो रकम लगानी गरिएको हो । गाउँमा मौरीपालन, पशुपालन र दुग्ध उत्पादनबाट मनग्य आम्दानी गर्नका लागि किसानलाई उक्त लगानी लिन पनि उनले अनुरोध गरे ।
उक्त लगानीका लागि आव २०७७/७८ मा प्रदेश सरकारले साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमार्फत ६० करोड ५० लाख ७५ हजार रुपैयाँ, कृषि विकास बैंक लिबाट लगानी गरिएको ६० करोड रुपैयाँमध्ये प्रदेशका ३५० कृषकको ५२ करोड ९३ लाख ६३ हजार रुपैयाँ रहेको ढुङ्गेलले बताए।
प्रदेशभित्र ६५ कृषि विकास बैंक लिमिटेडका शाखा कार्यालयमार्फत सो ऋण लगानी कार्यक्रम विस्तार तथा साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडका १ सय ८१ साना किसान कृषि सहकारीमार्फत ऋण लगानी कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ । प्रदेशका १३ वटै जिल्लामा अक्सिजन प्लान्ट, शीत भण्डारण, कभर्डहल, रङ्गशालालगायतका लागि बजेट विनियोजन गरिएको छ ।



