काठमाडौँ । चितवनमा रहेको सिन्ती झरना नयाँ पर्यटकीय गन्तव्य बनिरहेको छ । कालिका नगरपालिका–९ मा रहेको झरना जिल्ला सदरमुकाम भरतपुरबाट झण्डै २४ किलोमिटर पूर्वमा पर्छ ।
सिन्ती झरनाको प्रचारप्रसार हुन थालेपछि आन्तरीक पर्यटक आउन थालेको कालिका–९ का वडाध्यक्ष हेमबहादुर क्षेत्रीले बतए । भरतपुर, रत्ननगर, गैँडाकोट, खैरहनी, सौराहा, हेटौँडा, तनहुँसम्मका दैनिक २०० को हाराहारीमा आन्तरिक पर्यटक झरना हेर्न तथा नुहाउन आइरहेका छन् । युवायुवती यहाँ आएर गर्मी छल्नेदेखि तस्वीर लिने, टिकटक बनाउने तथा भिडियो लिने गरेको क्षेत्रीले बताए ।
कालिकाको शक्तिखोर–सिद्धि सडकखण्डअन्तर्गत दोगराबाट साढे दुई किलोमिटरको पैदल यात्रापछि सिन्ती झरना पुगिन्छ । सिन्ती झरनासम्म मोटर बाटो पुगेको छैन । यहाँको मोटर बाटोबाट ४० मिनेट उकालोे हिँडेपछि झरना पुगिने वडाध्यक्ष क्षेत्रीले बताए ।कोरोना महामारीका कारण लामो दूरीका पर्यटकीय गन्तव्यमा जाने वातावरण नहुँदा युवापुस्ताको आकर्षण स्थानीय सिन्ती झरनामा बढिरहेको वडा सदस्य लालबहादुर गुरुङले बताए। “चार वर्षअघिसम्म यसको खासै चर्चा थिएन, जनप्रतिनिधि आएपछि झरनाको प्रचार हुन थालेको हो । त्यसपछि आन्तरिक पर्यटक आउन थालेका हुन्”, गुरुङले भने ।
महाभारत पर्वत शृङ्खलाअन्तर्गत सिन्तीखोलाको मुहानबाट निस्किएकाले यसलाई सिन्ती झरना भनिएको हो । झरनाको लम्बाइ करिब ५० मिटर रहेको छ ।
नगरपालिकाका सूचना अधिकारी अच्युतराज रेग्मीले गुरुयोजना बनाएर झरनाको विकास र प्रचारप्रचार गर्ने तयारी भइरहेको बताए । झरनाको गेट निर्माण, बाटोघाटो सुधार, सरसफाइ, विश्रामस्थललगायतका संरचना निर्माण गर्ने गरी गुरुयोजना बनाउन लागिएको छ । झरनास्थलसम्म बिजुली बत्तीको व्यवस्था, झरना जाने पैदलमार्ग सुधार, व्यवस्थित शौचालय निर्माण गरी यसको प्रचारप्रसारसम्मको भूमिका बढाउने गरी कार्यविधि तयार पारिरहेको उनले बताए ।



