काठमाडौं । राष्ट्रिय योजना आयोगको प्राङ्गणमा एउटा गाडी छ । सँगै चार्जिङ स्टेसन समेत रहेको उक्त गाडी आफैंमा ऐतिहासिक छ । तर, सोही गाडी आयोगका नवनियुक्त उपाध्यक्ष विश्व पौडेलको पुरानो स्मृति कोट्याउने एउटा माध्यम समेत बन्यो । आयोगको त्यही गाडीमार्फत् उनले एमालेका नेता स्व. रवीन्द्र अधिकारीदेखि गगन थापासम्मलाई सम्झिन भ्याए ।
सरकारी संयन्त्रभित्र विद्युतीय गाडीको प्रयोग बढोस भन्ने उद्देश्यले पहिलोपटक सो गाडी ल्याइएको थियो । यो नै सरकारी संस्थाभित्रको पहिलो विद्युतीय सवारी साधन समेत थियो ।
पौडेलले सपथ ग्रहणलगत्तै अर्थमन्त्री जनार्दन शर्मासँग मुलुकको अर्थतन्त्रको बारेमा लामो छलफल गरेको बताएका छन । महामारी विरुद्ध लड्दै गरेको मुलुकको अर्थतन्त्र हाक्न आफूले पूर्ण सहयोग गर्ने विश्वास दिलाएको समेत पौडेलले बताए ।
शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार गठन भएर पुराना राजनीतिक नियुक्ति खारेज भएसँगै रिुक्त भएको योजना आयोगमा उपाध्यक्ष र २ सदस्य नियुक्त भएका छन् । बिहीबार पौडेलसँगै सदस्यहरुमा डा. रामकुमार फुँयाल र डा. दिलबहादुर गुरुङले समेत शपथ ग्रहण गरेका थिए ।



