काठमाडौं । नेपाल प्रहरी सेवाका कर्मचारीको सरुवाका सन्दर्भमा १९ बुँदे मापदण्ड लागु भएको छ । प्रहरी प्रधान कार्यालयको नेपाल प्रहरी प्रधान कार्यालय नीति निर्माण समितिबाट पारित भइ साउन २२ गते गृहमन्त्री नारायणकाजी श्रेष्ठले स्वीकृत गरेको मापदण्ड प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको हो । त्यसो त स्वीकृत मापदण्ड अनुसार मंगलबार मात्रै ९ सय भन्दा बढी प्रहरी निरीक्षकहरुको सरुवा समेत भइसकेको छ ।
स्वीकृत मापदण्डमा प्रहरीहरुलाई एक वर्ष अवधिपछि मात्रै सरुवा गर्ने, स्थायी ठेगाना भएका जिल्लामा सरुवा नगरिने, एउटा कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख पदमा सरुवा नगरिने, सरुवा गर्दा सबै भुगोल तथा शहर तथा ग्रामीण क्षेत्रमा आलोपालो गर्ने लगायत छन् ।
त्यस्तै, प्रहरीहरुले सरुवा माग गर्दा विद्युतीय फाराम भरेर मात्रै गर्नसक्ने तथा सरुवाका लागि अनुचित दवाव वा प्रभाव सिर्जना गर्न नहुने भनिएको छ । त्यस्तो गर्ने कर्मचारीको अभिलेख राखी सोही अनुसार मूल्यांकन गरिने समेत मापदण्डमा उल्लेख गरिएको छ ।
यस्ता छन् १९ बुँदे साझा मापदण्ड
- प्रहरी कर्मचारीको स्थायी वतन भएको जिल्लामा सरुवा गरिने छैन तर काठमाण्डौ उपत्यकाको हकमा भने यो प्रावधान लागू हुने छैन । कुनै प्रहरी कर्मचारीले बसाँईसराई गरेमा अनिवार्य रुपमा स्थायी बसाँईसराईको प्रमाणपत्र पेश गरी अभिलेखमा आफ्नो स्थायी वतन अद्यावधिक गर्नुपर्नेछ ।
- प्रहरी कर्मचारीको सरुवा गर्दा भौगोलिक हिसावले तराई, पहाड, हिमाल र सुविधाको हिसावले शहरी / ग्रामिण तथा सुगम / दुर्गम क्षेत्रमा आलोपालो हुने गरी गरिनेछ ।
- विशिष्टिकृत सेवा प्रवाह गर्ने प्रहरी कार्यालयहरुमा सम्बन्धित सेवामा आवश्यक पर्ने तालिम प्राप्त नगरेका प्रहरी कर्मचारीलाई जिम्मेवारीमा खटाईने / सरुवा गरिने छैन ।
- कार्यालय प्रमुखको रुपमा खटिने प्रहरी कर्मचारीको हकमा कार्यालय प्रमुखबाट कार्यालय प्रमुखको जिम्मेवारी पाउने गरी सरुवा तथा पदस्थापन गरिने छैन ।
- स्वभाविक अपेक्षा राख्ने बाहेक अनुचित दवाव वा प्रभाव श्रृजना गरी सरुवा / काज माग गर्ने प्रहरी कर्मचारीको अभिलेख राखी सोही बमोजिम मूल्याङ्कन गरी सरुवा गरिनेछ ।
- सामान्यतया कार्यालय प्रमुखको रुपमा १ बर्ष सेवा अवधि पुरा गरेपछि अन्यत्र सरुवा गरिनेछ ।
- कार्यालय प्रमुखको जिम्मेवारी दिँदा कार्य क्षमता, कमाण्ड, तालिम, अनुभव र निजले प्राप्त गरेका अवसर समेतलाई मूल्याङ्कन गरिनेछ ।
- एउटै दर्जामा दोहोर्याएर कार्यालय प्रमुख दिँदा एक कार्यालय प्रमुखबाट अर्को कार्यालय प्रमुख बीचको समय अन्तर दर्जागत रुपमा आवश्यकता अनुसार निर्धारण गरिनेछ ।
- सामान्यतया कार्य सम्पादन स्तर सन्तोषजनक नभएका, प्रहरी आचरण विपरीत कार्य गरेका, प्रचलित कानूनद्वारा कारवाही भएका, कार्य क्षमता कमजोर भएको कारणले कार्यालय प्रमुखको जिम्मेवारीबाट हटाइएका र सुपरिवेक्षकले कार्यालय प्रमुख दिन उपयुक्त नहुने भनी कैफियत गरिएका प्रहरी कर्मचारीलाई कार्यालय प्रमुखको रुपमा दोहोर्याएर सरुवा गरिने छैन ।।
- प्रहरी कर्मचारीको सरुवा गर्दा एउटै दर्जामा पूर्व दरवन्दी पर्ने गरी सरुवा गरिने छैन र सामान्यतया अन्य दर्जामा पनि पूर्व दरवन्दी रहेको कार्यालयमा सरुवा गरिने छैन ।
- सरुवा तथा पदस्थापन भएको दरवन्दीमा हाजिर नहुने प्रहरी कर्मचारीलाई सोही बमोजिम मूल्याङ्कन गरी अन्यत्र सरुवा गरिनेछ ।
- नेपाल प्रहरीमा विशिष्टिकृत सेवा प्रवाह गर्ने कार्यालयहरुको छुट्टै आन्तरिक नीति भएमा सोही बमोजिम वा सम्बन्धित कार्यालयको सिफारिसमा सरुवा गरिने छ ।
- दरबन्दी भन्दा बढी संख्यामा प्रहरी कर्मचारी खटाउनुपर्ने भएमा दरबन्दी थपका लागी O & M गर्न नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयलाई लेख्नु पर्नेछ र तत्काल दरबन्दी थप नहुने भएमा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकाश निर्देशनालयको सिफारिसमा मात्र खटाईने छ ।
- प्रहरी ईकाईहरुलाई: जनघनत्व, क्षेत्रफल, अपराधिक क्रियाकलाप,मुद्दा दर्ता संख्या, सुरक्षा संवेदनशिलता, सुगम/दुर्गम, यातायातको पहुँच लगायतको आधारमा क,ख र ग श्रेणीमा वर्गिकरण गरिएको । (वर्गिकरण गर्ने क्रममा प्रप्रका अ.अ. विभाग, प्रप्रका अन्वेषण योजना निर्देशनालय ,प्रप्रका बजेट शाखा, उपत्यका प्रहरी कार्यालय, प्रदेश कार्यालयहरुबाट प्राप्त विवरणको बिवरणको विश्लेषण पश्चात नीति निर्माण समितिको बैठकबाट पारित गरिएको) ।
- सहायक दरवन्दीमा अर्हन खटन गर्दा निम्न आधारहरुलाई प्राथमिकता क्रममा राखिनेछ :-
- सामान्यतया विविध कार्यालयहरुबीच आलोपालो हुने गरी,
- कार्यालयको आवश्यकता/ प्रकृति र प्रहरी अधिकृतको व्यक्तिगत दक्षता/ अनुभव,
- सुगम/ दुर्गम, हिमाल/ पहाड/ तराई आलोपालो हुने गरी,
- वतन प्रदेश भित्र तथा बाहिर हुने गरी,
- सेवा विशिष्टिकरणलाई उपयोगी हुने गरी,
- प्रशासन / व्यवस्थापन/ अपराध अनुसन्धान/ अपराध नियन्त्रण/ सुरक्षा/ प्रशिक्षण र अन्य कार्यालयहरुमा कार्यविविधताको अनुभव हासिल हुने गरी,
- सरुवा माग गर्दा प्रहरी कर्मचारीले प्रहरी नियमावली २०७१ (संशोधन सहित) को अनुसुची-१३ बमोजिमको फाराम भरी विद्युतिय माध्यम वा पत्रद्वारा सम्बन्धित कार्यालय मार्फत सरुवा गर्ने कार्यालयमा पठाउनु पर्नेछ । व्यक्तिगत सिफारिस, फोन तथा म्यासेज (SMS) आदि माध्यमबाट माग गरिएका सरुवा सिफारिस सम्बोधन हुनेछैन ।
- दरवन्दीका कर्मचारी नखोज्ने कार्यालय प्रमुखको कार्यलाई जनशक्तिको उचित परिचालन नगरेको वा जनशक्तिको दुरुपयोग गरेको तथा अनुशासन र आदेशको पालना नगरेको विषय बनाई प्रहरी नियमावली २०७१(संशोधन सहित) बमोजिम कारबाही गरिनेछ ।
- सरुवा पदस्थापना पश्चात तोकिएको समयावधिभित्र रवाना नलिने प्रहरी कर्मचारी र रवाना नदिने जिम्मेवार प्रहरी कर्मचारीको कार्यसम्पादन र कार्यदक्षता मूल्याङ्कन सोहीअनुसार गरिनेछ ।
- स्वीकृत मापदण्डमा “पूर्व दरवन्दी भएको जिल्ला वा कार्यालय र वतन जिल्लामा सरुवा गरिने छैन” भन्ने व्यवस्था भएका कारण पूर्व दरवन्दी भएको जिल्ला स्थित कतिपय कार्यालयहरुमा कार्यालय प्रमुखको रुपमा कार्यरत प्रहरी निरीक्षकलाई अन्यत्र जिल्लामा रहेका कार्यालयहरुमा कार्यालय प्रमुखकै रुपमा सरुवा गरिएको ।



