काठमाडौँ । माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा साउन २५ गते भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले एसईईको नतिजा २५ गतेभित्र ल्याउने तयारी तिब्र रुपमा गरिरहेको हो ।
अहिले सबै जिल्लाबाट विद्यार्थीको मूल्याङ्कन नतिजा आएर इन्ट्री सकेर नम्बर रुजु गर्ने काम भइरहेको छ । रुजु गर्ने काम एक हप्ता लाग्छ । कुनै प्राविधिक कठिनाई नआए साउन अन्तिम साताभित्रै नतिजा प्रकाशन हुने परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) का परीक्षा नियन्त्रक रुद्र अधिकारीले बताए ।
दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण बढ्दै गएपछि गरिएको निषेधाज्ञाका कारण गत वैशाख २७ गते एसइई परीक्षा स्थगित भएको थियो । गत जेठ १३ देखि भौतिकरूपमा एसइई परीक्षा सञ्चालन गर्ने गरी बोर्डले तालिका सार्वजनिक गरे पनि कोभिडकै कारण परीक्षा हुन नसकेपछि जेठ १७ गते बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो ।
बोर्डले एसइईको विद्यार्थी मूल्याङ्कन, नतिजा प्रकाशन तथा प्रमाणीकरण कार्यविधि, २०७८ जारी गर्दै सैद्धान्तिकतर्फ कुनै पनि विषयमा ८० प्रतिशत वा सोभन्दा बढी प्राप्ताङ्क प्राप्त गर्ने विद्यार्थीको विषगत शिक्षकले के कारण उक्त नम्बर दिइएको हो भनेर कारण खुलाउनुपर्ने जनाएको छ । कोभिडकै कारणले २०७६ सालको एसइई परीक्षाको नतिजा पनि आन्तरिक मूल्याङ्कनबाट प्रकाशित गरिएको थियो ।
२०७७ सालको एसईई परीक्षाका लागि पाँच लाख १७ हजार विद्यार्थीले रजिस्ट्रेशन फारम भरेका थिए ।



