काठमाडौं । नेपाल राष्ट्र बैंकले विभिन्न वस्तुको आयातमा नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालूआर्थिक वर्षको मौद्रिक नीति कार्यान्वयनका लागि एकीकृत निर्देशन जारी गर्दै सो व्यवस्था लागु गरेको हो ।
राष्ट्र बैंकका अनुसार अब एक पटकमा अधिकतम ६० हजार अमेरिकी डलरसम्मको माल सामान आयात गर्न सकिने भएको छ । यसअघि ५० हजार डलरसम्मको वस्तु आयात गर्न पाउने व्यवस्था गरेको थियो । साथै, भारतबाट आयात हुने वस्तुको हकमा भने तीन करोड भारु सम्मको एलसी खोल्न पाइने पनि राष्ट्र बैंकले जनाएको छ ।
यस्तै, राष्ट्र बैंकले आयातमा राख्नुपर्ने धरौटी पनि घटाएको छ । केन्द्रीय बैंकले उद्योग र व्यापारिक संस्थाले गर्ने आयातमा राख्नुपर्ने धरौटीको सीमा घटाएको हो । अब उद्योगले १ प्रतिशत र व्यापारिक संस्थाले ३ प्रतिशत धरौटी राख्नुपर्नेछ ।
यसअघि उद्योगले गर्ने आयातको हकमा २ प्रतिशत र व्यापारिक संस्था तर्फ १० प्रतिशत धरौटी राख्नुपर्ने व्यवस्था थियो । तर, राष्ट्र बैंकले विद्युतीय माध्यमबाट भन्सार राजस्व लिने व्यवस्था भएकाले आयात धरौटीको सीमा घटाएको जनाएको छ ।



