काठमाडौं । नेपाल सरकारले उठाएको आन्तरिक ऋण ८ खर्ब नाघेको छ । आर्थिक वर्ष २०७७/७८ को अन्त्यसम्म सरकारले कुल ८ खर्ब ३२ करोड रुपैयाँ ऋण तिर्न बाँकी रहेको देखिएको छ ।
सरकारले उठाएको सो ऋणमध्ये ट्रेजरी बिलबाट २ खर्ब ७९ अर्ब ५९ करोड, विकास ऋणपत्रबाट ५ खर्ब १३ अर्ब ९४ करोड नागरिक बचतपत्रबाट ६ अर्ब ५९ करोड तथा वैदेशिक रोजगार बचतपत्रबाट १८ करोड रुपैयाँ संकलन गरिएको छ ।
अघिल्लो वर्षसम्म सरकारले यसरी तिर्नुपर्ने ऋणको आकार ६ खर्ब १३ अर्ब रुपैयाँ मात्रै थियो । यो खर्ब करिब १ खर्ब ८७ अर्ब रुपैयाँले आन्तरिक ऋण बढेको हो ।
आर्थिक वर्ष २०७७/७८ मा २ खर्ब २५ अर्ब रुपैयाँ बराबरको ऋण लिने लक्ष्य लिएको सरकारले राष्ट्र बैंकमार्फत् २ खर्ब २४ अर्ब ९२ लाख रुपैयाँ ऋण लिएको छ भने ३६ अर्ब ९० करोड रुपैयाँ बराबरको ऋण भुक्तानी गरेको छ ।
सरकारले यो वर्ष कुल ९० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल, १ खर्ब ३० अर्ब रुपैयाँको विकास ऋणपत्र, ३ अर्ब ९५ करोडको नागरिक बचतपत्र र ५ करोड ५२ लाखको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेको जनाएको छ ।



