काठमाडौं । गत आर्थिक वर्षमा नेपालको व्यापार घाटा साढे १४ अर्ब रुपैयाँभन्दा बढी छ । अर्थात् मुलुकमा निर्यातभन्दा आयातको मात्रा निकै ठूलो छ । व्यापार घाटा कम गर्नका लागि निर्यात बढाउनुको विकल्प छैन । सरकारले व्यवस्थित तवरले निर्यातजन्य वस्तु तथा सेवा उत्पादन र बिस्तार गर्न सके उल्लेख्य मात्रामा विदेशी मुद्रा आर्जन गर्दै व्यापार घाटा कम गर्न सकिन्छ ।
यद्यपि नेपालले केही यस्तो वस्तुहरु छन् जसको निर्यातबाट राम्रो आम्दानी गरिरहेको छ । जसमध्ये गलैचा, अलैची, अम्रिसो, कुकुर तथा विरालाको खाना, यार्सागुम्बा पनि पर्छन् । जसको निर्यातबाट गत आर्थिक बर्षमा मुलुकले २४ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गरेको छ ।
भन्सार विभागको तथ्याङ्कानुसार पछिल्लो ५ वर्षमा नेपालबाट ४१ अर्ब रुपैयाँ बढीको कार्पेट (गलैँचा) निर्यात भएको छ । गत आर्थिक बर्षमा २०७९/८० मा १ ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपैयाँको गलैँचा निर्यात भएको विभागको भनाइ छ ।
यहाँ उत्पादन हुने गलैँचा अमेरिका, जर्मनी, बेलायतलगायतका मुलुकमा निर्यात हुन्छ । ऊन तथा जनावरका रौबाट बनेका यस्ता गलैँचाको माग विशेष गरी अमेरिका तथा यूरोप नै हो । गत आवमा अमेरिकामा मात्रै ७ अर्ब १८ करोड २५ लाख ६७ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ । साथै जर्मनीमा ८८ करोड ७० लाख २२ हजार रुपैयाँ, बेलायतमा ७८ करोड ७५ लाख ७६ हजार रुपैयाँ, इटलीमा ६१ करोड ४६ लाख ६२ हजार रुपैयाँ मूल्य बराबरको गलैँचा निर्यात भएको छ । साथै गत आर्थिक बर्षमा फ्रान्समा ३४ करोड २५ लाख ९२ हजार रुपैयाँ बराबरको गलैँचा निर्यात भएको छ ।
भन्सार विभागका अनुसार अघिल्लो आर्थिक बर्षमा कूल ९ अर्ब ५६ करोड ७७ लाख ३० हजार रुपैयाँ मूल्य बराबरको गलैँचा निर्यात भएको छ । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा ७ अर्ब २४ करोड ४० लाख ५० हजार रुपैयाँ, आर्थिक बर्ष २०७६/७७ मा ६ अर्ब १५ करोड ७७ लाख ६ हजार रुपैयाँको तथा आर्थिक बर्ष २०७५/७६मा ७ अर्ब ३६ करोड ९६ लाख ९५ हजार रुपैयाँको गलैँचा विभिन्न देशमा निर्यात भएको छ ।
आठ अर्बको अलैँची निर्यात
विभागका अनुसार गत आर्थिक बर्षमा ८ अर्ब रुपैयाँभन्दा बढीको अलैँची निर्यात भएको छ । मुलुकको वैदेशिक व्यापारमा अलैची निर्यातको मूख्य भूमिका छ । गत आर्थिक बर्षमा ८ अर्ब २७ करोड ६५ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अलैँची मूलुकबाट निर्यात भएको छ । जुन अघिल्लो आर्थिक बर्षमा ४ अर्ब ८१ करोड ३४ लाख ६५ हजार रुपैयाँ थियो ।
विभागका अनुसार आर्थिक बर्ष २०७७/७८ मा ७ अर्ब १ करोड ८ लाख २९ हजार रुपैयाँ, आर्थिक बर्ष २०७६/७७ मा २ अर्ब ५३ करोड ९५ लाख ९५ हजार रुपैयाँ तथा आर्थिक बर्ष २०७५/७६ मा २ अर्ब ७१ करोड ४९ लाख ४२ हजार रुपैयाँ बराबरको अलैैची निर्यात भएको छ । नेपालबाट भारत, पाकिस्तान, इटली तथा जर्मनीलगायत मूलुकमा अलैँची निर्यात हुने गरेको छ ।
पाँच वर्षमा ३ अर्ब रुपैयाँको अम्रिसो निर्यात
नेपालबाट निर्यात हुने वस्तुमा अम्रिसो पनि पर्छ । विभागका अनुसार पछिल्लो पाँच वर्षमा अम्रिसो निर्यातबाट ३ अर्ब ३३ करोड ६ लाख ९२ हजार रुपैयाँ आम्दानी भएको छ । गत आर्थिक बर्षमा १ अर्ब ८८ लाख रुपैयाँको अम्रिसो भारत निर्यात भएको छ । नेपालबाट निर्यात हुने अम्रिसोको मूख्य गन्तव्य भारत हो ।
विभागको विवरणानुसार अघिल्लो आर्थिक बर्षमा ६९ करोड ९८ लाख ६२ हजार रुपैयाँको अम्रिसो नियात भएको छ । त्यस्तै आर्थिक बर्ष २०७७/७८मा ६५ करोड ८८ लाख १३ हजार रुपैयाँको, आर्थिक बर्ष २०७६/७७मा ५५ कराड ७४ लाख ७८ हजार रुपैयाँ तथा आर्थिक बर्ष २०७५/७६ मा ४० करोड ५७ लाख ३९ हजार रुपैयाँको अम्रिसो मूलुकबाट निर्यात भएको छ ।
एक वर्षमा ४४ करोड रुपैयाँको यार्सागुम्बा निर्यात
विभागका अनुसार गत आर्थिक बर्षमा ४४ करोड ३१ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको छ । नेपालको उच्च हिमाली क्षेत्रमा पाइने जडीबुटी यार्चागुम्बाको निर्यात पछिल्ला पाँच वर्ष यताकै उच्च हो ।
अघिल्लो आर्थिक बर्षमा ३० करोड ९२ लाख ३३ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको थियो । त्यस्तै आर्थिक बर्ष २०७७/७८ मा १५ करोड ७६ लाख २५ हजार रुपैयाँको, आर्थिक बर्ष २०७६/७७ मा २० करोड २२ लाख ३५ हजार रुपैयाँको तथा आर्थिक बर्ष २०७५/७६मा १७ करोड ९४ लाख ८ हजार रुपैयाँको यार्चागुम्बा निर्यात भएको छ । विभागका अनुसार नेपालबाट यार्चागुम्बा मुख्य निर्यात हुने मुलुकमा हङकङ, कम्बोडिया, मलेसिया, सिङ्गापुर, भियतनाम, अमेरिकालगायतका राष्ट्र पर्छन् ।
कुकुर तथा विरालाको खानाको निर्यात बढ्दो
पछिल्लो केही वर्षयता नेपालबाट निर्यात हुने वस्तुमा कुकुर तथा विरालाको खानासमेत पर्दै गएको छ । विगत पाँच वर्षमा मात्रै मुलुकबाट १० अर्ब रुपैयाँको यस्ता वस्तु निर्यात भएको विवरण भन्सार विभागले सार्वजनिक गरेको छ ।
गत आर्थिक बर्षमा मात्रै ३ अर्ब ४० करोड ९० लाख ७३ हजार रुपैयाँ मूल्य बराबरको यस्ता वस्तु मूलुकबाट बाहिरिएको विभागले सार्वजनिक विवरणमा उल्लेख छ । गत आर्थिक बर्षमा २ अर्ब ९६ करोड ७६ लाख रुपैयाँका यस्ता वस्तु अमेरिका निर्यात भएको थियो । त्यस्तै २९ करोड ४२ लाख ३५ हजार रुपैयाँको क्यानडा, ३ करोड ९३ लाख ५६ हजार रुपैयाँ बराबरको जापान निर्यात भएको सार्वजनिक विवरमा उल्लेख छ ।
नेपालले अघिल्लो आर्थिक बर्षमा २ अर्ब ९१ करोड १९ लाख ३९ हजार रुपैयाँको कुकुर तथा विरालाका लागि बनेका यस्ता खानेकुरा निर्यात गरेको छ । त्यस्तै आर्थिक बर्ष २०७७/७८मा १ अर्ब ९६ करोड ५० लाख ४६ हजार रुपैयाँ, आर्थिक बर्ष २०७६÷७७ मा १ अर्ब २२ करोड ८३ लाख ५६ हजार रुपैयाँ तथा आर्थिक बर्ष २०७५/७६ मा १ अर्ब ५ करोड २८ लाख ७६ हजार रुपैयाँको यस्ता बस्तु मुलुकबाट निर्यात भएको विवरण्मा उल्लेख छ ।



