काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सरोकार निकायको समन्वयमा आव २०७८/७९ का लागि यसअघि कायम भएको दरमा पाँच प्रतिशत बढाएर मजदूरको ज्याला निर्धारण गरेको हो । आव २०७७/७८ मा श्रमिकले प्रतिदिन ७५० रुपैँया ज्याला पाउँदै आएकामा अब भने ७९० रुपैँया प्राप्त गर्नेछन् । यस्तै फोहर/ढल सफा गर्ने कामदारको हकमा एक हजार ७० रुपैँया बाट एक हजार १२५ रुपैँया ज्याला कायम गरिएको छ ।
श्रमिकको न्यूनतम उमेर १६ वर्ष र दैनिक काम गर्ने समय आठ घण्टालाई आधार मानेर आव २०७७/७८ मा कायम गरिएको ज्याला दरमा नेपाल राष्ट्र बैंकको ज्यालादर सूचकाङ्कको मान तथा प्रचलित बजार दरलाई आधार मानेर पाँच प्रतिशत वृद्धि गरी आगामी आर्थिक वर्षका लागि श्रमिकको ज्याला दर निधारण गरिएको जनाइएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सार्वजनिक खरीद नियमावली २०६४ को नियम १४८ अनुसार निर्माण सामग्री ढुवानी तथा उपकरणको भाडा र श्रमिकको ज्याला निर्धारण गरिएको बताए । उनका अनुसार विभिन्न ५४ वटा क्षेत्र तोकेर भाडा तथा ज्याला एवं निर्माण सामग्रीको दर निर्धारण गरिएको हो । नतोकिएको क्षेत्रको दर भने सम्बन्धित विभागको न्यूनतम आधारअनुसार र उक्त आधार नभएको अवस्थामा उत्पादक र आधिकारिक विक्रेताबाट दरभाउ प्राप्त गरी कार्यान्वयन गराइने उल्लेख छ ।
यस्तो छ दर
प्राप्त विवरणानुसार श्रमिकले ७५० प्रतिदिन ज्याला पाउँदै आएकामा अब भने ७९० प्राप्त गर्ने छन् । यस्तै फोहर÷ढल सफा गर्ने कामदारको हकमा रु एक हजार ७० बाट रु एक हजार १२५ ज्याला कायम गरिएको छ ।
दक्ष (डकर्मी, सिकर्मी, नकर्मी, चित्रकार बज्रकर्मी), प्लम्बर, ढुङ्गा र काठको बुट्टा काट्ने साधारण मूर्तिकार, आर्टिष्टको प्रतिदिन एक हजार ३० रुपैँयाबाट एक हजार ८० रुपैँया, अर्धदक्ष उक्त कामदारको हकमा भने ८ सय ५४ रुपैँयाबाट बढाएर ८ सय ९० रुपैँया, सामाजिक परिचालक, फोरमेन, खानीसम्बन्धी काम गर्ने कामदारको हकमा ७ सय ५० रुपैँयाबाट ७ सय ९० पु¥याइएको छ ।
यसैगरी निर्माण कार्यका कामदार, मेकानिक्स, कालीगढ, अफिस असिष्टेन्ट, ड्रिल हेल्पर, सर्भे हेल्परआदिको हकमा भने ६ सय ९० रुपैँयाबाट ७ सय २५ रुपैँया, माली, सहायक परिचालक, स्वीपर, धोवी, वन हेरालु, चौकीदारआदिको ६ सय ३० रुपैँया बाट ६ सय ६० रुपैँया, सामान लोड अनलोड गर्नेको हकमा प्रति एक सय किलो बराबर २१.५० रुपैँयाबाट २३ रुपैँया पु¥याइएको छ । भरिया (प्रति ४0 किलोसम्म) का लागि प्रतिदिन ७८५ बाट रु ८२५ पु¥याइएको छ ।
स्थानीय प्रशासनले निर्माण सामग्रीको दरसमेत कायम गरेको जनाएको छ । जसअनुसार डन्डी बाँध्ने तार प्रतिकिलो ९९ र एमएम सोलिड स्वायर रडको प्रतिकिलो ७५ पु¥याइएको छ । यस्तै मेसिनबाट उत्पादित प्रतिहजार इँट्टाको काठमाडौँ महानगरपालिका भित्र यसअघि कै रु १६ हजार २०० कायम गरिएको छ भने चिम्नीबाट तयार भएको इँट्टाको रु १४ हजार ५४० कायम छ ।
यो विवरणमा स्थानीय तह अनुसार फरकफरक मूल्य निर्धारण गरिएको छ । ज्याला निर्धारण समितिले हरेक वर्ष यसरी दर निर्धारण गर्दै आएको छ ।



