काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । भारतबाट मूल्य बढेर आएपछि निगमले मंगलबार राति १२ बजेपछि लागू हुनेगरी पेट्रोल र डिजेलको मूल्य स्वचालित प्रणालीअनुसार बढाएको हो ।
निगमले मंगलबार एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा ९ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ७/७ रूपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १ सय ७३ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १ सय ५३ रुपैयाँ पुगेको छ ।
त्यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलिण्डर १ सय ३० रुपैयाँ घटेको छ । खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १ हजार ६ सय ६० रुपैयाँ पर्नेछ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर साढे ८ रूपैयाँ र डिजेलमा ७ रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ। ग्यासमा भने प्रतिसिलिन्डर १ सय रूपैयाँ घटाएर पठाएको थियो ।




