images
images

नेपालबाट एक हजार श्रमिक लैजाँदै इजरायल, विज्ञापन खोल्न गृहकार्य


  • 609
    SHARES
  • २०७८ श्रावण १२ गते मंगलबार

    नेपालबाट एक हजार श्रमिक लैजाँदै इजरायल, विज्ञापन खोल्न गृहकार्य

    काठमाडौं । नेपालसँग सम्झौता भएको लामो समयसम्म पनि कामदार लैजान आनाकानी गरिरहेको इजरायलले नेपाली श्रमिक लैजान इच्छा देखाउँदै १ हजार जना श्रमिकको माग गरेको छ ।

    वैदेशिक रोजगार विभागका अनुसार इजरायलले केयरगिभर कामका लागि हजार नेपाली श्रमिक लैजान खोजेको हो । कोरोना महामारीका कारण अवस्था असामान्य नभएमा इजरायलले मागेको श्रमिकका लागि एक/डेढ हप्ताभित्र विज्ञापन खुलाएर श्रमिक पठाउने तयारी सरकारको छ ।

    सरकारले गतवर्ष इजरायल र नेपालबीच श्रम सम्झौता गर्दै पहिलो चरणमा ५ सय जना कामदार पठाउने समझदारी गरेको थियो । १ हजार कामदार माग भएसँगै कसरी पठाउने भनेर सरकारी अधिकारीहरूले तयारी थालेका छन् ।

    वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्णप्रसाद दवाडीका अनुसार हजार जनाका लागि विज्ञापन खुलाउँदा व्यवस्थापनमा समस्या हुने कि भनेर चरणबद्ध रूपमा गर्नेबारे गृहकार्य भइरहेको छ । ‘एकैचोटि खुलाउने कि दुईपटक गर्ने भन्ने विषयमा भने इजरायलसँग अनुमति मागिँदै छ, चरणबद्ध रूपमा पठाइयो भने व्यवस्थापन गर्न समेत सहज हुने थियो,’ उनले भने । विभागका अनुसार इजरायलमा केयरगिभरका लागि जाने कामदारका लागि २१ दिनको म्याद राखेर आवेदन खुलाउने तयारी छ ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘इजरायल नेपाली कामदार पठाउनेसम्बन्धी निर्देशिका २०७८ जारी गरिसकेको छ । नेपाली युवाहरूको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा रोजगारीमा पठाउन सरकारले पछिल्लोपटक गत असोज १४ गते सम्झौतापत्रमा हस्ताक्षर गरेको छ जसअनुसार अब सरकार टु सरकार (जीटुजी) मार्फत कामदार इजरायल पठाउनेछ ।

    सम्झौताअनुसार इजरायलले केयर गिभर, कृषि, होटल र रेस्टुराँ, निर्माणलगायत क्षेत्रमा नेपालीलाई रोजगारीको अवसर दिनेछ । तर, पहिलो चरणमा केयर गिभर मात्रै लैजाने तयारी भएको छ । (आर्थिक अभियान दैनिकबाट)


    images
    images

    Logo