काठमाडौँ । ट्रेड युनियनका अध्यक्षलाई अस्पताल प्रवेशमा रोक लगाएपछि केएमसी अस्पताल सिनामंगल तनावग्रस्त बनेको छ । युनियनका अध्यक्ष मदनलाल श्रेष्ठलाई अस्पताल प्रशासनले केही समय अगाडि सरुवा गरेको थियो । प्रशासनले नियम बिपरित सरुवा गरेको भन्दै श्रेष्ठ अस्पताल प्रबेश गरेका थिए । अस्पताल प्रवेशको क्रममा सुरक्षा गार्डले रोक्न खोजेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नयाँ ब्यबस्थापन आएपछि अस्पताल प्रशासनले नया नियमावली २०७७ बनाएर कर्मचारीको सेवा सुविधा कटौती गरेको थियो । सोही बिषयलाई लिएर युनियनले श्रममा मुद्दा दायर गरेको थियो । मुद्दाको फैसला नआउँदै श्रेष्ठलाई अस्पताल प्रशासनले सरुवा गरेको एक कर्मचारीले बताए । उनले श्रम ऐन २०६७ अनुसार युनियनका पदाधिकारीलाई सरुवा गर्न नपाइने नियम रहेको पनि बताए ।
अस्पताल प्रशासनले सरुवा गरेपछि श्रेष्ठले आफु यहीँ काम गर्न चाहेको र पाउनुपर्ने भन्दै आइतबार पत्र लिएर अस्पताल पुगेका थिए । आइतबार श्रेष्ठलाई अस्पताल प्रशासनले प्रबेशमा रोक लगाएको थियो ।
श्रेष्ठ सोमबार आफुले यहीँ काम गर्न पाउनु पर्छ भन्दै फेरि अस्पताल पुगेका थिए । प्रशासनले सोमबार पनि प्रवेश निषेध गरेपछि श्रेष्ठलाई प्रवेश गर्न दिनुपर्छ भन्दै करिब २०० कर्मचारी आन्दोलनमा उत्रिएको एक कर्मचारीले बताए । आन्दोलनमा उत्रिएका कर्मचारीले श्रेष्ठलाई प्रबेश गर्न दिनुपर्ने तथा नियम बिपरित गरिएको सेवा सुविधा कटौती खारेज गर्नुपर्ने लगाएका माग राखेर आन्दोलन गरिरहेको बताए ।



