काठमाडौं । नेपाल राष्ट्र बैंकमा ४ दिनदेखि विद्युत् सेवा अवरुद्ध भएको छ । देशकै केन्द्रीय बैंक बैंकको रुपमा रहेको नेपाल राष्ट्र बैंकमा विद्युत लाइन सर्ट हुँदा शुक्रबारदेखि विद्युत सेवा अवरुद्ध भएको हो । लाइन नहुँदा बैंक अन्तर्गतका ६ वटा विभागका सेवाहरु ठप्प भएका छन् ।
बैंक अन्तर्गत विदेशी विनिमय व्यवस्थापन विभाग, सूचना प्रविधि विभाग, भुक्तानी प्रणाली विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, आन्तरिक लेखापरीक्षण विभाग र विकास बैंक सुपरिवेक्षण विभागमा लाइन नहुँदा ती विभागको सेवा ठप्प भएको हो ।
विद्युत् सेवा नहुँदा आइतबार सयौं सेवाग्राहीहरु त्यतिकै फर्किएका छन् भने सोमबार पनि सेवाग्राही फर्कनुपर्ने अवस्था रहेको राष्ट्र बैंक स्रोतको भनाई छ ।
देशको बैंक तथा वित्तीय संस्थाको नियमन गर्ने निकायको रुपमा रहेको संस्था नै कयौं दिनदेखि विद्युत् लाइन मर्मत गर्न नसक्दा सेवाग्राहीहरु आक्रोशित भएका छन् । बैंक तथा वित्तीय संस्थालाई पावर व्याकअप राखेर नियमित सेवा सञ्चालन गर्न निर्देशन दिने राष्ट्र बैंकले नै सानो समस्या समाधान गर्न नसकेर सेवाग्राहीलाई फर्काएको भन्दै यसले राष्ट्र बैंकको नियमनको धज्जी उडाएको उनीहरुको भनाइ छ ।
राष्ट्र बैंक भने समस्या समाधानमा लागिसकेको भन्दै छिटै सेवा नियमित हुने बताउँछ । बैंकका प्रवक्ता नारायण पोखरेलले लाइन सर्ट हुँदा केही विभागमा आइतबार समस्या भएको भए पनि अब छिटै प्राविधिक आएर मर्मत गर्ने जानकारी दिए।



