काठमाडौँ । निषेधाज्ञा खुलेसँगै कोरोना भाइरस सङ्क्रमणको ग्राफ पनि उकालो लागको छ । पछिल्लो एक हप्ताको तथ्याङ्क हेर्दा सङ्क्रमणदर उकालो लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
सरकारले निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै लगेसँगै सङ्क्रमणको दर पनि बढ्दै गएको पाइएको हो । निषेधाज्ञा खुलेसँगै भीडभाड तथा जनस्वास्थ्यमा मापदण्ड लागू नगर्नेजस्ता कारणले सङ्क्रमणको दर बढेको पाइएको हो । मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले साउन लागेपछि मानिसको आउजाउ बढेपछि सङ्क्रमणदर पनि बढिरहेको बताए । निषेधाज्ञा खुकुलो भएसँगै जनस्वास्थ्यमा मापदण्ड लागू गर्न, भीडभाड नगर्न र सामाजिक दूरी दुई मिटर कायम गर्न पटकपटक आग्रह गरे पनि मानिसले लत्याएका छन् । यसबाट सङ्क्रमण दर क्रमशः बढ्दै गएको पाइएको छ ।
सरकारले गत असार २२ गतेदेखि सबै प्रकारका व्यवसाय खुला र जोरबिजोर हटाउँदै सबै सवारी साधन सञ्चालन गर्ने गरी निषेधाज्ञालाई खुकुलो बनाएको हो । कोभिड–१९ को सङ्क्रमण बढेसँगै गत वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा लागू गरिएको थियो ।
मन्त्रालयले निषेधाज्ञा खुकुलो भएको अवस्थामा अझै पनि बुझी नबुझी लुकीछिपी वा खुल्लमखुला जनस्वास्थ्यमा मापदण्ड उल्लङ्घन भइरहेको जनाएको छ । उनका अनुसार अहिले दैनिक परीक्षण गरिएका मध्ये २२ प्रतिशतमा सङ्क्रमणदर रहेको छ । नेपालमा शुरुदेखि अहिलेसम्मको सङ्क्रमणदर भने १९.३ प्रतिशत रहेको छ ।
सङ्क्रमणको दोस्रो लहर आएसँगै दैनिक एक हजार ८०० मा झरे पनि अहिले त्यो क्रमशः बढ्दै गइरहेको छ । अहिले त्यो सङ्ख्या बढेर तीन हजार पुगेको छ । साउन १ गते १४ हजार १८२ जनाको परीक्षण गर्दा दुई हजार ९३६ मा सङ्क्रमण देखिएकामा बिहीबार साउन ७ गतेसम्म आइपुग्दा दुई हजार ७१४ पुगेका छन् ।
यस्तै साउन २ गते १० हजार ६६ परीक्षण हुँदा एक हजार ८७५, ३ गते नौ हजार ६२८ परीक्षण गर्दा एक हजार ८०१, ४ गते ११ हजार ६६४ परीक्षण हुँदा दुई हजार ४४५, ५ गते १३ हजार १३५ परीक्षण हुँदा तीन हजार १०८ र साउन ६ गते दुई हजार ८३८ जना सङ्क्रमित भएका छन् ।
मन्त्रालयका अनुसार मृत्यु हुने सङ्ख्या १८ सम्ममा झरे पनि बिहीबार २४ जनाको सङ्क्रमणबाट निधन भएको छ । यसैगरी सबभन्दा बढी सङ्क्रमणदर हुने प्रदेशमा प्रदेश नं १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम रहेका छन् । ती प्रदेशमा परीक्षण गरिएकामध्ये दुई जनामा एक जना सङ्क्रमित पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए ।
जनस्वास्थ्यविद् डा. सागरराज भण्डारीले निषेधाज्ञा खुकुलो पारेसँगै जोखिम बढेको बताए । उनले परीक्षणको दायरा कम र खुकुलो भएसँगै मानिसको भीडभाड भएकाले नेपालमा सङ्क्रमणको जोखिममा अझै रहेको बताए ।
उनले खोप लगाएका मानिसबाट पनि सङ्क्रमण सार्ने जोखिम उत्तिकै रहेको बताए । खोप लगाएका मानिस केही हुँदैन भन्दै जनस्वास्थ्यमा मापदण्ड लागू गरिएको देखिएको छैन, उनले भने, खोपले सङ्क्रमणलाई नै रोक्ने होइन । सङ्क्रमणको लक्षणलाई मात्र कमी गराउने हो । नेपालमा पहिलो लहर सकिए पनि गत चैतको दोस्रो हप्तादेखि सङ्क्रमणको दोस्रो लहर आएको थियो । दोस्रो लहरले मानिसको जनजीवन असामान्य बनाएको थियो । सङ्क्रमणको दोस्रो लहरले फोक्सोमा असर पु¥याएर अक्सिजनको मात्रा घटाउने र निमोनियाजस्ता रोग लागेका थिए । जनस्वास्थ्यविद् भण्डारीका अनुसार भारतमा सङ्क्रमणको दर बढिरहेकाले नेपालमा जोखिम रहेको बताए । भारतको खुला सीमाका कारण भारतबाट सङ्क्रमण फैलने डर रहेको छ ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोलाले खुकुलो भएसँगै मानिसले जनस्वास्थ्यमा मापदण्ड प्रयोग नगर्दा जोखिम रहेको बताए । खोप लगाएको चारदेखि छ हप्तासम्म काम गर्दछ, उनले भने, खोप लगाएकाले पनि स्वास्थ्यमा मापदण्ड लागू नगर्दा त्यो बीचमा जोखिम नै हुन्छ । उनले केही समय अस्पतालमा सङ्क्रमित बिरामी कमी आए पनि अहिले उपचार गर्नेको सङ्ख्या पनि बढेको बताए ।
१० जिल्लामा ५०० भन्दा बढी
अहिले ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० वटा रहेका छन् । तिनमा मोरङ, सुनसरी, झापा, काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, कास्की, नवलपरासी ९पूर्व० र रुपन्देही रहेका छन् । यही साउन ६ गते मात्र ५ं०० भन्दा बढी सङ्क्रमति हुने नवलपरासी ९पूर्व०, रुपन्देही र कास्की जिल्ला थपिएका हुन् । यसैगरी २०० भन्दा बढी सङ्क्रमति हुने जिल्ला २६ पुगेका छन् । मन्त्रालयले अघिल्लो हप्ताको तुलनामा यस हप्ता २०० भन्दा बढी सङ्क्रमण हुने जिल्ला धेरै थपिएको जनाएको छ ।
तेस्रो लहर आउन सक्छ : स्वास्थ्य मन्त्रालय
सरकारले तेस्रो लहर आउनसक्ने चेतावनी दिइसकेको छ । नेपालमा असोज वा कात्तिक महिनातिर तेस्रो लहर आउनसक्ने बताइएको छ । अस्पतालका निर्देशक डा. बाँस्तोलाले तेस्रो लहरका रूपमा डेल्टा प्लस भेरियन्ट नेपालमा देखिइसकेकाले जोखिम शुरु भइसकेको बताए । उनले डेल्टा प्लस भेरियन्ट निकै सङ्क्रामक रहेकाले बच्नुपर्ने बताए ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बिहीबार विज्ञप्ति जारी गर्दै सङ्क्रमणको बढ्दो अवस्थाले तेस्रो लहर आउन सक्ने बताए । उनले तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, श्ययालगायतका पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध गरेको छ ।
उनले तेस्रो लहर आएर भयाभह स्थिति नआओस् भन्नका लागि सबै स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न अनुरोध गरिएको बताए । सबै अस्पताललाई अक्सिजन भर्न र श्यया तयारी अवस्थामा राख्न निर्देशन दिएका छौँ, उनले भने, तेस्रो लहरले बालबालिकालाई बढी प्रभाव पार्ने भएकाले बालबालिकाका लागि सघन उपचारकक्ष र भेन्टिलेटर तयारी अवस्थामा राख्न भनेको छौँ । उनले तेस्रो लहर बालबालिकाका लागि बढी जोखिम रहेकाले सबै स्वास्थ्य संस्थालाई बालबालिकाका लागि २० प्रतिशत श्यया छुट्याउन निर्देशन दिइसकेको जानकारी दिए ।



