काठमाडौं । सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) ले अल्पकालीन तथा दीर्घकालीन लगानीकर्ता छुट्याउने प्रणाली सञ्चालनमा ल्याएको छ । सीडीएससी आइतबार विज्ञप्ती जारी गर्दै यस्तो गणना गर्ने प्रणाली आइतबार साँझ ७ बजेदेखि सञ्चालनमा ल्याएको जनाएको हो ।
अब कुनै पनि शेयर खरिद गर्दा वा आईपीओ भर्दा डिम्याट खातामा शेयर प्राप्त भएको मिति र बिक्री गरिएको मितिको आधारमा लगानीकर्तालाई अल्पकालीन वा दीर्घकालीन भनेर छुट्याउँछ ।
आर्थिक वर्ष २०७८/७९ को बजेटमा सरकारले अल्पकालील लगानीकर्तालाई ७.५ प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई ५ प्रतिशतको पुँजीगत लाभकरको व्यवस्था गरेको थियो । खरिद गरिएको र बिक्री गरिएको मितिको अन्तर ३६५ दिन वा सोभन्दा बढी भए दीर्घकालीन तथा सोभन्दा कम भए अल्पकालीन लगानीकर्ताको रुपमा गणना गर्ने व्यवस्था गरिएको छ ।
एउटै लगानीकर्ताले एउटै शेयर स्क्रिपमा पनि होल्ड गरेको समय अनुसार फरक फरक पुँजीगत लाभकर गणना गर्नसक्ने व्यवस्था यो प्रणालीले गरेको छ । यसर्थ कुनै व्यक्ति आफैंमा अल्पकालीन लगानीकर्ता हो कि दीर्घकालीन भनेर यो प्रणालीले छुट्याउँदैन । तर, लगानीकर्ताले खरिद गरेको शेयर अल्पकालका लागि कारोबार गरेको हो कि दीर्घकालका लागि भन्ने चाहिँ सिस्टमले छुट्याउँछ ।
एउटै ग्राहकले फरक फरक मितिमा किनेको शेयर बेच्दा पनि प्रत्येक शेयरको खरिद मितिका आधारमा लाभकर गणना गर्नसक्ने प्रणालीको विकास समेत सीडीएससीले गरेको छ ।




