काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत प्राप्त गरेका छन् । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवाले संसदमा १ सय ६५ मत प्राप्त गरेका हुन् ।
हाल प्रतिनिधिसभाको कुल २ सय ७५ सदस्यमध्ये हाल २ सय ७० सांसद छन् । त्यसमध्ये बहुमत प्राप्त गर्न १ सय ३६ सांसदको मत आवश्यक पर्ने थियो । देउवाले पाएको यो मत आवश्यक संख्याभन्दा २९ जना बढी हो ।
देउवालाई नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी नेपालका उपेन्द्र यादव तथा महन्त ठाकुर पक्ष, राष्ट्रिय जनमोर्चा तथा एमालेका करिब डेढ दर्जन सांसद समेतको समर्थन थियो । अाेली पक्षका ८ जना सांसदले पनि देउवाको पक्षमा मतदान गरेका थिए ।
अहिले प्रतिनिधिसभामा एमालेका १ सय २१ जना, काँग्रेसको ६१ जना, नेकपा माओवादी केन्द्रका ४९ जना, जनता समाजवादी पार्टीका ३२ जना, राष्ट्रिय जनमोर्चामा १ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीका १ जना तथा नेपाल मजदूर किसान पार्टीका १ जना सांसद छन् ।
सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल लगायतले आज देउवालाई विश्वास मत दिएनन् । भीम रावलले आजै राजीनामा दिएका थिए । योगेश भट्टराई लगायत पनि आज मतदान बहिस्कार गरे ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देन र नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले पनि आजको मत विभाजनमा तटस्थ बसे ।
आजको मत विभाजनमा कुल २ सय ४९ मत खसेकोमा सबै मत सदर भएको थियो ।



