काठमाडौं । दोस्रो पटक पुनस्र्थापित प्रतिनिधिसभाको बैठक आज बस्दैछ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न चार बजे पहिलो बैठक बस्नेगरी संसदको आठौं अधिवेशन आह्वान गरेपछि आज बैठक बस्ने लागेको हो ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले विघटन गरेको प्रतिनिधिसभालाई पुनर्स्थापित गर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले असार २८ गते परमादेश जारी गरेको थियो ।
आइतबारको बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकहरुलाई प्रक्रियामा लगिने कार्यसूची छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो । तीमध्ये बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् ।
अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने जानकारी यसअघि नै दिइसकेका छन् । यद्यपि आइतबारको पहिलो बैठकको कार्यसूची भने बिहान १० बजे बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकले टुंगो लगाउने छ ।



