काठमाडौं । वैशाख १० गते हुने उपनिर्वाचनका लागि गए राति १२ मौन अवधि सुरु भएको छ । प्रतिनिधिसभा सदस्यका लागि बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा हुन लागेको निर्वाचनका लागि निषेधको अवधि लागू हुने भएको हो ।
मतदान सुरू हुनुभन्दा ४८ घन्टाअघिदेखि मौन अवधि सुरू हुने व्यवस्था अनुसार निर्वाचन आयोगले गएराती १२ बजेदेखि मौन अवधि लागु गरेको छ।
निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घन्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुनेछ।
सो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनैपनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्टि आदि गर्न पाइने छैन।
साथै उम्मेदवारको पक्षविपक्षमा कुनैपनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएको आयोगले जनाएको छ।
निर्वाचन आचारसंहिताविपरित वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामाग्री प्रसारजस्ता काम नगर्न र नगराउन पनि आयोगले आग्रह गरेको छ।



