काठमाडौं । दोस्रो त्रैमासमा नोक्सानीको अवस्थालाई चिर्दै कृषि विकास बैंकले १ अर्ब भन्दा बढी नाफा गरेको छ । बैंकले प्रकाशन गरेको चैत मसान्तसम्मको रिपोर्ट अनुसार बैंकले १ अर्ब ४ करोड नाफा कमाएको हो । अघिल्लो त्रैमासमा बैंक १२ करोड रुपैयाँ नोक्सानमा देखिएको थियो ।
बैंकले यो अवधिमा गरेको नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा भने करिब ४५ प्रतिशत कम हो । यसरी नाफा घट्नुमा बैंकको उच्च निष्क्रिय कर्जा अनुपात तथा खुद व्याज आम्दानीमा रुकावट मुख्य कारण देखिएको छ ।
यो अवधिको आम्दानीबाट इम्पेरिमेन्ट चार्जमा झण्डै २ अर्ब ११ करोड रुपैयाँ छुट्याएको छ । यो अवधिमा बैंकको निष्क्रिय कर्जा अनुपात ४.३५ प्रतिशत पुगेको छ । बैंकको व्यवसाय वृद्धि सामान्य रहे पनि कोषको लागतमा भएको वृद्धिका कारण खुद व्याज आम्दानीमा उल्लेख्य सुधार हुन नसकेको देखिएको छ ।
बैंकको कोषको लागत ७.८१ प्रतिशत र आधार ब्इाजदर १०.२७ प्रतिशत रहेको छ । पुँजीकोष अनुपात १४ प्रतिशत भन्दा माथि रहेको बैंकको कर्जा निक्षेप अनुपात भने तोकिएको ९० प्रतिशत भन्दा तल नै छ ।
नोक्सानीको अवस्थाबाट माथि उठे पनि बैंकको वितरणयोग्य नाफा भने अहिले पनि नकारात्मक छ । १ अर्ब ३३ करोडभन्दा बढी ब्याज उठ्न बाँकी रहेका कारण बैंकको वितरणयोग्य नाफा नकारात्मक भएको हो ।



