पर्सा । कोभिड–१९ को उच्च जोखिममा रहेको पर्सामा विभिन्न शीर्षकमा जथाभावी शुल्क लिदैँ आएको गुनासो आउने गरेका छन् । यस्तैगरी अहिलेसम्म नसुनिएको डिस्चार्ज शुल्क पर्सामा निजी क्षेत्रको तराई हस्पिटल वीरगञ्जले डिस्चार्ज शुल्क लिएको खुलेको छ । यसलाई चिकित्सकले अनौठो शुल्कको रूपमा लिएका छन् ।
उपचारका लागि तराई हस्पिटलमा भर्ना भएका मुसाफिरप्रसाद यादवलाई दिइएको बिलमा डिस्चार्ज शुल्क वापत एक हजार लिएको उल्लेख गरिएको छ । चिकित्सकहरू भने यस्तो शुल्कका विषयमा आफूलाई जानकारी नभएको बताउँछन् । नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले डिस्चार्ज शुल्कको बारेमा आफूलाई जानकारी नभएको बताउँछन् । उनले अस्पतालले दिने गरेको सेवा सुविधाको आधारमा विभिन्न शिर्षकमा शुल्क लिने गरिएको भएपनि डिस्चार्ज शुल्क भनेको के हो ? आफुलाई थाहा नभएको बताए ।
नेशनल मेडिकल कलेजका मेडिकल डाइरेक्टर डा. प्रमोद शरार्फ डिस्चार्ज शुल्क वापत रकम लिएको आफूले पहिलो पटक सुनेको बताउँछन् । यसअधि आफूले यस्तो शुल्कको विषयमा लाग्ने गरेको कतैबाट केही जानकारी नपाएकाले आफूलाई अनौठो लागेको बताए ।
यसैबीच, निजी अस्पतालले सेवा सुविधा शुल्कको नाममा आफू खुसी रकम असुल्ने गरेको गुनासो आएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सात दिनभित्र सेवा सुविधाका नाममा लिने शुल्क सर्वसाधारणले देख्ने गरी राख्न निर्देशन दिएको छ ।
निर्देशन लगतै वीरगञ्ज महानगरपालिकाले अनुगमन गर्न थालेको छ । केही दिनअगाडि स्पर्श हस्पिटलले शयमा जलानसँग औषधि बाहेक सात दिनको सेवा शुल्क दुई लाख १५ हजार र प्रभु हस्पिटलले टेकनारायण खतिवडासँग तीन दिन अक्सिजन दिए वापत ३९ हजार लिएको घटना सार्वजनिक भएपछि पर्साको भिड एक्सन कमिटी र जिल्ला प्रशासन कार्यालय पर्साले अनुगमन कार्यलाई तिब्रता दिए पनि त्यो प्रभावकारी हुन सकेको थिएन । गोरखापत्र दैनिकबाट