काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेट वक्तव्यमा अर्थमन्त्री विष्णु पौडेलले आगामी साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रयोग गर्न बन्द गर्ने घोषणा गरे । उनले सोभन्दा पातलो झोला उत्पादन गर्ने उद्योगलाई स्तरोन्नति हुन चाहेमा सहुलियतको घोषणा समेत गरेका छन् ।
यो घोषणा कार्यान्वयन भयो भने अहिले हामीले तरकारी, फलफूल तथा अन्य उपभोग्य वस्तु किन्न प्रयोग गर्ने झोलाको प्रयोग पूर्ण रुपमा बन्देज हुनेछ ।
तर, ४० माइक्रोन (०.०४ मिलिमिटर) वा सो भन्दा बाक्लो प्लाष्टिक तथा झोलाको प्रयोग र उत्पादन भने गर्न पाइन्छ । त्यसो भए हेरौं, कस्तो झोला प्रयोग गर्न पाइन्छ, कस्तो पाइँदैन ?

भारतमा प्रदेशपिच्छे फरक फरक नियम
नेपालमा पातलो प्लाष्टिकको प्रयोगमा लगाइएको प्रतिबन्ध नौलो भए पनि केही क्षे विशेषमा यसअघिदेखि नै प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध लगाइएको छ । अहिले पनि सिंहदरबार परिसरमा प्लाष्टिक प्रयोग गर्न पाइँदैन ।
यसो त भारतले वर्षौ अघिदेखि यस्तो झोलाको प्रयोग गर्न नपाइने व्यवस्था गरेको छ । प्रदेश सरकारहरुको निर्णय अनुसार भारतमा फरक फरक मापदण्ड तोकिएका छन् ।

अहिले नेपालको सीमावर्ती राज्य उत्तर प्रदेशमा ५० माइक्रोनभन्दा पातलो प्लाष्टिकको प्रयोग गर्न पाइँदैन । महाराष्ट्र, पञ्जाब, केरला लगायत शहरमा ३० देखि ५० माइक्रोनसम्मका प्लाष्टिक प्रतिबन्धित छन् । हिमाञ्चल प्रदेशमा ७० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोग गर्न पाइँदैन भने नेपालको पूवी सीमावर्ती राज्य पश्चिम बंगालमा भने नेपालमा जस्तै ४० माइक्रोनभन्दा पातलो झोला प्रतिबन्ध गरिएको छ ।



