कोलम्बो । राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर भागेपछि श्रीलंकामा संकटकाल घोषणा गरिएको छ । कार्यबाहक राष्ट्रपति घोषणा गरेका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले संकटकालको घोषणा गरेका हुन् । संसदका सभामुख महिन्दा यापा अबेवर्देनाले गोताबाया राजापाक्षे विदेशमा रहेका बेला प्रधानमन्त्री विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपतिमा नियुक्त गरेको घोषणा गरेका हुन् ।
योसँगै कोलम्बोमा प्रदर्शनकारीविरुद्धको दमनलाई तीव्र पारिएको छ । भीडलाई प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न नदिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो ।
बढ्दो विरोध प्रदर्शनलाई नियन्त्रण गर्न कोलम्बोलगायत पश्चिमी प्रान्तमा अनिश्चितकालीन कर्फ्यू लगाइएको छ। प्रधानमन्त्रीले सुरक्षा बललाई दंगा गर्नेलाई पक्राउ गर्न निर्देशन दिएको उनको कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेको कार्यालयमा हजारौं मानिसले भिडभाड गरेपछि र लङ्काको संसदको ढोकामा धकेल्दा अश्रुग्यास प्रहार गरिएको थियो । प्रदर्शनकारी टिभी स्टेशनमा प्रवेश गरेपछि सरकारी टेलिभिजन सञ्जाल रुपवाहिनी कर्पोरेशनले प्रसारण बन्द गरेका छन् ।
राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने र कोलम्बोमा रहेको आफ्नो सरकारी निवासबाट प्रदर्शनकारीहरू प्रवेश गर्नुअघि नै भागेर ‘शान्तिपूर्ण सत्ता हस्तान्तरण’को बाटो खुला गर्ने वाचा गरेका थिए। गोटाबाया राजापाक्षे राष्ट्रपतिको रूपमा विदेश भाग्न चाहन्थे । यसो गर्दा सम्भावित गिरफ्तारीबाट उनले उन्मुक्ति पाएका छन् ।
विक्रमासिङ्घेले यसअघि नै सर्वदलीय सरकार गठन गर्न तयार भएपछि आफूले राजीनामा दिने बताइसकेका छन्। श्रीलंकाका राजनीतिक दलहरूले सर्वदलीय सरकार गठन गर्न र जुलाई २० मा नयाँ राष्ट्रपति चयन गर्ने प्रयासलाई तीव्र पारेका छन्।



