काठमाडौं । बुधबारबाट मतदाता नामावली अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ । निर्वाचन आयोगले बुधवारबाट परीक्षणकालीन रूपमा यस्तो सेवा सुरु गर्न लागेको हो ।
मंगलवार निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै बुधवारदेखि अनलाइन प्रणालीबाट फोटोसहितको नामावली संकलन गर्ने प्रणाली तयार पारेको र परीक्षणका रुपमा काठमाडौं, ललितपुर र भक्तपुरमा सुरु गर्ने निर्णय भएको जनाएको छ ।
फोटो सहितको मतदाता नामावलीमा दर्ता नगरेका नागरिकले बुधवारबाट आयोगको वेबसाइटमा गएर व्यक्तिगत विवरण भरी अनलाइनबाटै पेस गर्न सक्नेछन् । फारम अनलाइनबाट पेस गर्दा प्राप्त हुने सङ्केत नम्बर सहितको प्रिन्ट कपी र आवश्यक कागजात लिएर फोटो तथा औँठा छाप दिनका लागि सम्बन्धित निर्वाचन कार्यालयमा जानुपर्ने आयोगले जनाएको छ ।
उपत्यकाको निर्वाचन कार्यालयमा फोटोसहितको मतदाता नामावली दर्ता गर्नेको भिड लागेपछि अनलाइन प्रणाली सुरु गर्न नसकेको भन्दै आयोगको आलोचना भएको थियो ।



