काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिना (साउनदेखि जेठ मसान्तसम्म)को वित्तीय विवरणअनुसार सो अवधिमा ९ खर्ब ४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यो रकम गत वर्षको यसै अवधिको तुलनामा ३.८ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जनाएको छ । वैशाखसम्ममा कुल ८ खर्ब ११ अर्ब ७९ करोड रेमिट्यान्स भित्रिएको थियो।
अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा चालु आर्थिक बर्षको यसै अवधिमा भित्रिएको रकम ३३ अर्ब २४ करोड रुपैयाँले धेरै हो । आर्थिक वर्ष २०७७÷७८ को ११ महिनामा ८ खर्ब ७० अर्ब ९४ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १२.६ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १.५ प्रतिशतले वृद्धि भई ७ अर्ब ५१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १०.५ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३ लाख १३ हजार ३ सय ६७ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ६८ प्रतिशतले घटेको थियो ।
त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या २०८।३ प्रतिशतले वृद्धि भई २ लाख ५९ हजार ९१ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५२.१ प्रतिशतले घटेको थियो । साथै यस अवधिमा खुद ट्रान्सफर ३.६ प्रतिशतले वृद्धि भई १० खर्ब ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ११.५ प्रतिशतले बढेको थियो ।



