भक्तपुर । आर्थिक चलखेलमा यातायात कार्यालय सार्न लागेको भन्दै बिरोध भएको छ । विगत पाँच वर्षदेखि भक्तपुरको जगातीमा रहेको यातायात व्यवस्था कार्यालयथिमिस्थित राधेराधेमा सार्ने भएसंगै बिरोध भएको हो ।
सवारी चालक अनुमति पत्र लाइसेन्स बितरण गर्दै आएको यातायात व्यवस्था कार्यालय जगातीको प्राङ्गणमा आइतबार स्थानीय व्यवसायी एवं लेखापढी व्यवसायी संघर्ष समितिले पत्रकार सम्मेलन गरी कार्यालय सार्ने कार्यको बिरोध गरेका हुन । पत्रकार सम्मेलनमा आर्थिक चलखेलमा परेर कार्यालय सार्न लागिएको आरोप आयोजकले लगाए ।
सूर्यविनायक नगरपालिका–८ जगातीमा २०७३ माघ २ गतेदेखि सञ्चालनमा रहेको कार्यालय अनुपयुक्त घरमा सार्न लागेको उनिहरूको आरोप थियो । पत्रकार सम्मेलनमा संघर्ष समितिका सदस्य लक्ष्मी कार्कीले सरकारी मापदण्ड भित्रै रहेको तथा सबैलाई सेन्टर पर्ने कार्यालयमा आर्थिक चलखेल गर्दै सार्न लागेको बताए ।
कार्यालय प्रमुख नेत्र भट्टराई भने पुरानो घरको सम्झौता सकिएको, पार्किङको समस्या, सेवा ग्राहिलाइ सौचालय लगायतका समस्या भएपछि कार्यालय सार्न लागिएको बताउँछन् । नयाँ सर्न लागेको घरमा सबै सुबिधा रहेको उनको दावी छ ।



