काठमाडौँ । काठमाडौँ महानगरले टेकुस्थित ट्रान्सफर स्टेशनमा रहेको केही भाग फोहोरमा जीवाणु राखेर प्लाष्टिकले छोपेको छ । बर्षाले सडक विग्रिएपछि फोहोर ढुवानी हुने नसकेको कारण देखाउदै ट्रान्सफर स्टेशनको थुप्रो छोप्न सुरु गरेको हो ।
मेयर बालेन्द्र शाहका सचिवालय सदस्य इन्जिनियर सुनिल लम्सालका अनुसार शहरमा उत्पादन भएको फोहोर संकलन गरेर ट्रान्सफर स्टेशनमा थप्दा दुर्गन्ध बढ्ने भएकाले छोपिएको हो । यसरी छोपिएको फोहोरमा जीवाणु हालिएको छ । त्यसमाथि प्लाष्टिकले छोपिएको हो।
उनले भने, अहिले दैनिक संकलन भएको फोहोरलाई स्टेशनको एक साइटमा राखेर ढुवानी गरिँदैछ । ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाउन महानगरले समय समयमा प्रयास गर्दै आएको छ । ट्रान्सफर स्टेशनलाई फोहोर शुन्य बनाएर त्यस अवस्थालाई कायम राख्ने योजनाअनुरुप प्रयास भएको हो । सवारी साधनको प्राविधिक क्षमता घट्नु, ल्याण्डफिल साइटसँग सम्बन्धित प्राविधिक तथा सामाजिक समस्याले फोहोर ढुवानी हुन नसक्दा समय समयमा ट्रान्सफर स्टेशनमा फोहोर बाँकी हुने गरेको छ ।
यसअघि जैविक फोहोरमा माइक्रो बायो पोजिटिभ व्याक्टेरिया मिसाएर दुर्गन्ध हटाउने विधिको परीक्षण गरिएको थियो । यो विधिबाट फोहोरबाट उत्पादन हुने दुर्गन्ध हटाउन सक्ने लम्सालकाे भनाइ छ । अहिले टेकुमा ३९ रोपनीमा ट्रान्सफर स्टेशन रहेकाे छ । त्यसमध्ये ३० रोपनी क्षेत्रफलमा फोहोर व्यवस्थापनमा प्रयोग हुने सवारी राख्ने तथा फोहोर ट्रान्सफर गर्ने गरिएको छ ।



