images
images

विकृति ,विसंगतिको अन्त्य हुनेगरी अभियान चलाउनुपर्छ : सभामुख सापकोटा


  • 396
    SHARES
  • २०७९ आषाढ २५ गते शनिबार

    विकृति ,विसंगतिको अन्त्य हुनेगरी अभियान चलाउनुपर्छ : सभामुख सापकोटा

    भक्तपुर । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संसद लोकतन्त्रको आत्मा भएको बताएका छन् ।  भक्तपुरको सानोठिमीस्थित युवा परिषदमा आज आयोजना भएको ‘संघीय नमुना युवा संसद् अभ्यास कार्यक्रम’को उद्घाटन गर्दै उनले संसद लोकतन्त्रको अन्तिम अर्थमा आत्मा भएको बताएका हुन् ।

    उनले मानव चेतनाको स्तर जति उचो भयो त्यति नै लोकतन्त्रले जनताको पक्षमा भूमिका खेल्न सक्ने चर्चा गर्दै संसद जनताको आवाज प्रष्फुटित हुने थलो भएको बताए । संसदमा लोकतन्त्रको उच्चतम अभ्यास हुने थलो हुने भएको उल्लेख गर्दै उनले भने, “हामी लोकतान्त्रिक हुन सके मात्र लोकतन्त्र सफल हुन्छ, लोकतन्त्रको बिकल्प झन उन्नत लोकतान्त्र हो, त्यो प्रवचन र भाषण दिने विषय मात्र नभई जीवन पद्धति भएको छ ।”

    उनले बिचार भन्दा ठूलो दुनियामा कोही नभएको चर्चा गर्दै निर्वाचनमा हुने विकृति र विसंगतिको अन्त्यका लागि युवाले अभियाननै चलाउनु पर्ने बताएका छन् । सभामुख सापकोटाले स्थानीय तह निर्वाचनमा पैसाको खोलो बगाउने डरलाग्दो अवस्था आएको देखेर चिन्ता लागेको भन्दै त्यस्ता विकृति र विसंगतिको अन्त्य हुनेगरी युवाले अभियान चलाउनु पर्ने बताए।

    उनले अब आउने संघीय संसद र प्रदेशसभाको निर्वाचनमा सही, असल र इमान्दार उम्मेदवारलाई जिताउन चुनावका बेलामा पैसाको खोलो बगाउने जस्ता डरलाग्दो विकृति र विसंगतिको अन्त्य गर्नु पर्नेमा जोड दिए । उनले भने, “यस पटकको काठमाडौंको चुनाव र त्यसपछि अन्यत्रको चुनावहरूले के देखाएको छ भने विद्यमान परिस्थितिबाट तपाई, हामी र सबै जनताहरु सन्तुष्ट छैनन, चुनावको माध्यमबाट जनताले यसको अभिव्यक्त गरेका छन् ।”

    निर्वाचनमा हुने विकृति र विसंगतिविरुद्ध अभियान चलाउन सके धेरै पैसा खर्च नगरीकन पनि निर्वाचन जितिन्छ भन्ने उदाहरण काठमाडौं, धरानलगायतका ठाउँमा हालै सम्पन्न स्थानीय तह निर्वाचनमा देखिएको उनको भनाई छ । कार्यक्रममा राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतलगायतले निष्पक्ष निर्वाचनका लागि युवाहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

     


    images
    images

    Logo