images
images

भक्तपुरलाई २ अर्ब ४३ करोड २९ लाख बजेट, चाँगुनारायणलाई सबैभन्दा बढी


  • 417
    SHARES
  • २०७९ जेठ २१ गते शनिबार

    भक्तपुरलाई २ अर्ब ४३ करोड २९ लाख बजेट, चाँगुनारायणलाई सबैभन्दा बढी

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०७९/८० का लागि भक्तपुर जिल्लालाई कूल २ अर्ब ४३ करोड २९ लाखको बजेट विनियोजन गरेको छ । सरकारले भक्तपुरका चार नगरपालिकामध्ये चाँगुनारायणलाई सबैभन्दा बढी र मध्यपुथिमि नगरपालिकालाई सबैभन्दा कम बजेट विनियोजन गरेको छ । 

    सरकारले बजेट भाषणमार्फत यहाँका चार नगरमा विनियोजन गरेको बजेटमध्ये चाँगुनारायणले अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत  ६६ करोड ७२ लाख पाउने भएको हो । 

    भक्तपुरको जिल्लाको आधाभन्दा बढी क्षेत्रफल ओगटेको चाँगुनारायणले समानीकरणतर्फ १८ करोड १४ लाख, ससर्त अनुदानतर्फ ४२ करोड २३ लाख, विशेष अनुदान दुई करोड र समपूरकतर्फ चार करोड गरी ६६ करोड ७२ लाख बजेट पाएको हो । जसमा चालूतर्फ  ४९ करोड ७९ लाख र पूँजीगत १६ करोड ९३ लाख पाएको हो ।

    जिल्लाको पुरानो नगरकारुपमा रहेको भक्तपुर नगरले समानीकरणतर्फ २३ करोड ६९ लाख, सशर्ततर्फ  ३६ करोड ५० लाख, विशेष अनुदान  ३ करोड र  समपूरकतर्फ ५० लाख बजेट प्राप्त गरेको छ । यस नगरपालिकाले चालूतर्फ  ५९ करोड ३४ लाख र पूँजीगततर्फ ४ करोड ३५ लाख बजेट पाएको हो ।
     
    त्यस्तै सूर्यविनायक नगरले समानीकरणतर्फ  २२ करोड ७७ लाख र ससर्ततर्फ  ४० करोड आठ लाख पाएको छ । जसमा चालूतर्फ  ४८ करोड ७५ लाख र पूँजीगततर्फ १४ करोड १० लाख अन्तरसरकारी बजेट पाएको हो । यस नपाले कूल  ६२ करोड ८५ लाख बजेट पाएको छ । 

    त्यस्तै मध्यपुरथिमि नगरले भने यस पटक जिल्लामा चार नपामध्ये सबैभन्दा कम सङ्घीय सरकारको बजेट पाउने छ । यस नगरले अन्तरसरकारी हस्तान्तरणमार्फत  ५० करोड तीन लाख मात्रै बजेट पाएको हो । मध्यपुरथिमि नपाले समानीकरणतर्फ २४ करोड १९ लाख, ससर्ततर्फ  २५ करोड १४ लाख र समपूरकमा रु ७० लाख बजेट पाएको छ । जसमा चालूतर्फ  ४६ करोड १९ लाख र पूँजीगततर्फ ३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।

    सङ्घीय सरकारले भक्तपुर र चाँगुनारायण नगरलाई विशेष अनुदान दिए पनि सूर्यविनायक र मध्यपुरथिमि नगरले भने विशेष अनुदान पाउन सकेनन् । भक्तपुर नपाले ३ करोड र चाँगुनारायण नपाले दुई करोड विशेष अनुदान पाएका छन् । 

    सूर्यविनायक नगरले यस वर्ष समपूरक बजेटसमेत पाएन । जिल्लाका भक्तपुर, मध्यपुरथिमि र चाँगुनारायण नपाले समपूरक बजेट पाएका छन् । जसमा चाँगुनारायण नपाले सबैभन्दा बढी रु चार करोड समपूरक बजेट पाएको छ भने मध्यपुरथिमि नगरपालिकाले ७० लाख र भक्तपुरले ५० लाख रुपैयाँ समपूरक बजेट पाएको छ ।


    images
    images

    Logo