काठमाडौँ । नेपालको प्रमुख पर्यटकीय स्रोत बजार छिमेकी मुलुक भारत र बङ्गलादेशमा ‘समर टुरिज्म क्याम्पेन’ नामक पर्यटन प्रवद्र्धन अभियान सञ्चालन गरिएको छ । नेपाल उद्योग परिसङ्घले भारतीय र बङ्गलादेशी पर्यटक लक्षित गर्दै उक्त अभियान शुभारम्भ गरेको हो ।
कोभिड–१९ पछि भारतीय र बङ्गलादेशीसहित अन्य मुलुकका पर्यटकसमेत बिस्तारै बाहिर निस्कन थालेको अवस्थामा उनीहरुलाई नेपालमा आकर्षित गर्न यो अभियान सञ्चालन गरिएको परिसङ्घले जनाएको छ । हाल भारत र बङ्गलादेशमा निकै गर्मी छ ।
भारतको नयाँदिल्लीलगायत गन्तव्यमा ५० डिग्री हाराहारी तापक्रम पुगेको जनाइएको छ । भारत र बङ्गलादेशमा अहिले गर्मी बढिरहेकाले शीतलताका लागि नेपाल उपयुक्त गन्तव्य हुने र पर्यटकको सङ्ख्या पनि बढ्ने भएकाले अभियान सञ्चालन गरिएको परिसङ्घका महानिर्देशक दीपकराज जोशीले बताए ।
उनले भने, “अहिले भारत र बङ्गलादेशमा गर्मी भइरहेका बेला मानिसहरुले शीतल ठाउँ कहाँ हुन्छ भनेर खोजिरहेका हुन्छन् त्यस्तो बेला उनीहरुको माइन्डमा नेपाल क्लिक होस् भनेर ‘गर्मीसे बेहालः चलो नेपाल’ भन्ने हिन्दी र बङ्गलादेशी भाषामा प्रवद्र्धन सामग्री बनाएर प्रचारप्रसार गरिनेछ ।”
महानिर्देशक जोशीले भारत र बङ्गलादेशमा रहेका परिसङ्घको नेटवर्कबाट पनि यो अभियान प्रवद्र्धन गरिने बताए । परिसङ्घले भारतमा अल इन्डिया एसोसिएशन अफ इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन इन्डस्ट्रिज, फेडेरेशन अफ इन्डियन च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रिज, पिएचडी च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजसँग सहकार्य गर्दै आएको छ ।
यस्तै बङ्गलादेशको मेट्रोपोलिटिन च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्री र ढाका च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीजसँग पनि परिसङ्घले सहकार्य गर्दै आएको छ । यो अभियान यी संस्थाहरुमार्फत पनि ती देशमा प्रवद्र्धन गरिने जोशीले बताए । परिसङ्घले नेपालको पर्यटन प्रवद्र्धन गर्न र पर्यटक भित्र्याउन यो अभियान सञ्चालन गरेको हो ।
नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेले भारत र बङ्गलादेश लक्षित पर्यटन प्रवद्र्धन अभियानले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्नुभयो । बोर्डले पनि यसअघि यस्तै अभियान सञ्चालन गरेको थियो ।
बोर्डले भारत, बङ्गलादेशलगायत क्षेत्रीय गन्तव्यको बजारीकरण र प्रवद्र्धनमा काम गर्दै आएको छ । सोही प्रभावस्वरुप भारतीय पर्यटक पछिल्लो मे महिनामा करिब नौ प्रतिशत वृद्धि भएको छ ।
बङ्गलादेशका २०० प्रतिशतभन्दा बढी बढोत्तरी भएको बोर्डको विश्लेषण छ । नेपाल उद्योग वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्सजस्ता ठूला नेटवर्क भएका संस्थाबाट गरिने पर्यटन प्रवद्र्धनात्मक अभियानले नेपालको पर्यटनमा सकारात्मक भूमिका निर्वाह गर्ने भएकाले यसबाट पर्यटन क्षेत्रले लाभ लिनसक्ने निर्देशक लामिछानेको भनाइ छ ।
गर्मी मौसममा उनीहरु बाहिर भ्रमण गर्न निस्कन खोजिरहेको बेला नेपाललाई नै गन्तव्य बनाउन यो अभियानले आकर्षित परिसङ्घको विश्वास छ ।
लामो समय कोभिडबाट प्रभावित पर्यटन उद्योगको प्रवद्र्धन गर्नुपर्छ भन्ने उद्देश्यले नै अभियान सञ्चालन गरिएको यो अभियानले भारतीय र बङ्गलादेशीसहित अन्य मुलुकका पर्यटक भित्र्याउन पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
भारत र बङ्गलादेश दु्रत रुपमा वृद्धि भइरहेको बजार हो । दुवै देशको आर्थिक वृद्धि पनि उच्च छ । नेपालसँग हवाई सञ्जाल राम्रो र सहज पनि भएकाले यी देशका नागरिक अन्य मुलुकमा भ्रमण गर्नुभन्दा नेपालमा आउन सहज पनि छ ।
राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले भारतका तीन नयाँदिल्ली, मुम्बई र बैंङलोर गन्तव्यमा सिधा उडान गरिरहेको छ ।
सन् २०१९ मा २ करोड ६३ लाखभन्दा बढी भारतीय अन्य मुलुकको भ्रमण गएको तथ्याङ्क छ । यस्तै सोही अवधिमा २५ लाख बङ्गलादेशका नागरिक पनि अन्य मुलुकमा भ्रमणका लागि निस्किएको देखिन्छ । कोभिडपछि उनीहरु बिस्तारै बाहिर निस्कन थालेकाले नै उनीहरुलाई लक्षित गरी यो अभियान सञ्चालन गरिएको हो ।
नेपाल भित्रिने विदेशी पर्यटकमध्ये हालसम्मको आँकडामा भारत नै सबैभन्दा अगाडी छ । कोभिडपूर्व वार्षिक दुई लाख हाराहारी भारतीय पर्यटक नेपाल आउने गरेको रेकर्ड छ । कोभिड महामारीकै दौरानमा पनि सबैभन्दा बढी भारतीय नेपाल भ्रमणमा आएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रकाशन गरेको ‘टुरिज्म स्टाटिक्स २०२०’का अनुसार सन् २०२० मा २ लाख ३० हजार ८५, सन् २०१९ मा ११ लाख ९७ हजार १ सय ९१ र सन् २०१८ मा ११ लाख ७३ हजार ७२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सङ्ख्या सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् ।
सन् २०२० मा ४० हजार ३ सय ३६, सन् २०१९ मा १ लाख ५४ हजार १ सय ५० र सन् २०१८ मा १ लाख ९४ हजार ३ सय २३ भारतीय पर्यटकले नेपाल भ्रमण गरेका छन् । यस्तै बङ्गलादेशबाट सन् २०२० मा ४ हजार ९ सय १७, सन् २०१९ मा २५ हजार ८ सय ४९ र सन २०१८ मा २६ हजार ३ सय ५५ पर्यटक नेपाल भित्रिएको तथ्याङ्क छ ।
कोभिड महामारीपछि नेपालको पर्यटन बिस्तारै लयमा फर्किंदैछ । पछिल्ला दिनमा पर्यटक आगमन पनि निरन्तर बढिरहेको छ । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को पाँच महिनामा एक लाख ९० हजार ७ सय ३९ जना पर्यटक नेपाल आएका छन् ।
पछिल्लो मे महिनामा ५३ हजार ६ सय ८ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अघिल्लो अप्रिल महिनामा ५८ हजार ३ सय ८४ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।



