काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेड अर्को म्युचुअल फण्ड निष्काशन गर्ने भएको छ। क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनमा ल्याउन लागेको हो। यस योजनाको फण्डका लागि जेठ १९ गतेदेखि आवेदन दिन सकिनेछ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न लागेको हो । निष्काशन गरिने कुल इकाईमध्ये बीज पूँजीबापत न्यूनतम १ करोड ५० लाख वा कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत कोष प्रवर्धक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो।
उक्त फण्डमा न्यूनतम १ सय देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ। एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने यस फण्डको इकाईमा जेठ २४ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त समयमा सबै इकाई बिक्री नभएको खण्डमा असार २ गतेसम्म आवेदन म्याद थप गर्न सकिने क्यापिटलले जनाएको छ।



