काठमाडौं । भोटेकोशी बाढीका कारण स्थगित भएको प्रतिनिधिसभाको बैठक भोलि बुधबार दिउँसो १ बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले मंगलबार सूचना जारी गर्दै प्रतिनिधिसभाको बैठक भदौ १७ गते बुधबार दिउँसो १ बजे बस्ने जानकारी दिएको हो ।
सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार सभामुख डा. डोलप्रसाद (डीपी) अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम बैठकको मिति र समय निर्धारण गरेका हुन् ।
यसअघि भदौ ११ गते बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीपछि अर्को सूचना जारी नभएसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित गरिएको थियो ।
भोलिको बैठकमा भोटेकोशी बाढी तथा विपद्का विषयमा सभामुख अर्यालले विशेष प्रस्ताव पेश गर्ने तयारी छ । भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएपछि त्यसबारे संसद्मा छलफल हुने भएको हो ।



