काठमाडौं । यस साता शेयर बजार झण्डै ११८ अंकले घटेको छ । यस साता ४.९९ प्रतिशत अर्थात ११७.५५ अंक घटेर २ हजार २ सय ३८ दशमलव ६२ विन्दुमा पुगेको हो । यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन मात्र बजार खुलेको थियो । यस साताको आइतबार र मंगलबार सार्वजनिक बिदाका कारण शेयर बजार बन्द भएको थियो ।
यस साताको कुल बजार पूँजीकरण पनि ५ प्रतिशत घटेको छ। गत साता ३३ खर्ब ५१ अर्ब रुपैयाँ भएकोमा यस साता ३१ खर्ब ८४ अर्ब रुपैयाँमा सीमित भएको छ। गत साताको तुलनामा यो साता १ खर्ब ६६ अर्ब रुपैयाँ कम हो । शेयर बजार घटे पनि साता दैनिक औषत कारोबार रकम भने बढेको छ।
यस साताको पहिलो दिन आइतबार अन्तराष्ट्रिय श्रमिक दिवस परेकाले शेयर बजार बन्द रहेको थियो । त्यस्तै, साताको दोस्रो दिन सोमबार नेप्से ४८.७३ अंकले घटेको थियो । यस दिन २ सय २८ कम्पनीको १ अर्ब ४२ करोड बराबरको ३९ लाख ७८ हजार कित्ता शेयर किनबेच भएको छ ।
साताको तेस्रो दिन मंगलबार इस्लाम धर्मालम्वीहरुको पर्व ईद परेकाले यस दिन पनि शेयर बजार बन्द भएको थियो भने बुधबार ३१.७६ अंकले घटेर थियो । यस दिन २ सय ३३ कम्पनीको १ अर्ब २६ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो ।
साताको अन्तिम दिन विहीबार ३६.०६ अंकले घटेको थियो यो दिन २ सय ३२ कम्पनीको १ अर्ब ६५ करोड रुपैयाँ बराबरको शेयर कारोवार भएको थियो । यस साता सबै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये फाइनान्सका समूहको परिसूचक सबैभन्दा बढी घटेका छन् भने म्युचुअल फण्डको सबैभन्दा कम घटेको छ।



