काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । उम्मेदवारी फिर्ता लिन तोकिएको साँझ ५ बजेसम्मको समयसम्म उनले आफ्नो दाबी फिर्ता नलिएसँगै भरतपुरमा उनी उम्मेदवार बन्ने निश्चित भएको हो ।
नेपाली काँग्रेससहितको ५ दलीय गठबन्धनले भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिनेगरी भागबण्डा गरेको थियो । जसअनुसार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणु दाहाल पुनः गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी थिइन् । तर, स्थानीय काँग्रेसले भरतपुरमा गठबन्धन गर्न नहुने बताएको थियो ।
तल्लो तहको निर्णय विपरित केन्द्रबाट टिकट बाँडिएपछि असन्तुष्ट काँग्रेस कार्यकर्ताको प्रतिनिधित्व गर्दै पौडेलले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । पौडेलले उम्मेदवारी फिर्ता नलिएसँगै गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी रेणु दाहाललाई समस्या पर्ने भएको छ ।
नेपाली काँग्रेसका केन्द्रीय नेताहरु दाहालको उम्मेदवारी फिर्ता लिन चितवन गए पनि पौडेल अन्तिम समयसम्म उम्मेदवारी फिर्ता नलिने अडानमा रहेका थिए । केन्द्रीय नेताको स्वार्थका लागि कार्यकर्तालाई स्थानीय कार्यकर्ताको भावनालाई बेवास्ता गरेको उनीहरुको आरोप छ ।
रेणुले यसअघि पनि महानगरमा मठिन जीत निकालेकी थिइन् । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि दोस्रोचोटी भएको निर्वाचनमा उनले जीत हासिल गरेकी थिइन् । यसपालि भने काँग्रसकै उम्मेदवार बागी उठेपछि उनी संकटमा परेकी छन् ।



