images
images

बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालुआर्थिक बर्षबाट उद्योगमा नाफा


  • 420
    SHARES
  • २०७९ बैशाख १३ गते मंगलबार

    बिक्री लक्ष्य पूरा गर्दै उदयपुर सिमेन्ट, चालुआर्थिक बर्षबाट उद्योगमा नाफा

    काठमाडों । कमजोर व्यवस्थापकीय क्षमताका कारण बन्दप्रायः रहेको नेपालकै प्रख्यात उदयपुर सिमेन्ट उद्योगले पछिल्लो समय तीव्र गतिमा फड्को मारेको छ । गैँडा छाप सिमेन्ट उत्पादन गर्दै आएको उद्योगले चालु आर्थिक बर्षको ९ महिनामा १८ लाख ९ हजार बोरा सिमेन्ट बिक्री गरेको छ । उद्योगले आर्थिक बर्ष २०७८÷७९ मा २४ लाख बोरा सिमेन्ट बिक्री गर्ने लक्ष्य लिएको थियो । बिक्री लक्ष्य भेट्टयाउने उद्देश्यसहित उद्योगका सम्पूर्ण कर्मचारी अगाडि बढेका छन् । 

    उद्योगका प्रवक्ता लक्ष्मण पोखरेल चालु आर्थिक बर्षको बिक्री लक्ष्य पूरा भए बर्सेनि भइरहेको करिब ३० करोड रुपैयाँ घाटा पूर्ति गरी उद्योग सामान्य नाफामा जाने बताए । यद्यपि, उद्योगलाई आवश्यक पर्ने डिजेल, कोइला, जिप्सम तथा आइरन ओर आदिको मूल्य झण्डै दुई गुणा वृद्धि भएको तथा सिमेन्टको माग घटेको अवस्थामा यसले प्रभाव पार्न सक्ने उनको चिन्ता छ । 

    “२० लाख बोरासम्म बिक्री गर्दा कुनै ‘इन्सेन्टिभ’ नपाउने तर सो माथि बिक्री भएमा प्रतिबोरा १० रपैयाँ को दरले इन्सेन्टिभ पाउने भएपछि कर्मचारीमा उत्साह छाएको छ”, उनले भने, “उद्योगलाई नाफामा लैजान सक्दा बोनसलगायतको सुविधा पाइने, नगद प्रवाह राम्रो हुने भएकाले सबै कर्मचारी लक्ष्य पूरा गर्न लागिपरेका छन् ।”

    पछिल्ला समय उद्योगको वित्तीय स्थिति स्वस्थ्य बनेको छ । उद्योग व्यवस्थापनले आर्थिक बर्ष २०७७/७८ को वित्तीय विवरण तयार गरी सम्पत्ति र दायित्वको यथार्थ मूल्याङ्कन गरिसकेको छ । उद्योगले गत आवसम्मको ५ अर्ब ४९ करोड ८६ लाख ४ सय ७१ रुपैयाँ नोक्सानी पूर्ति गरी ५६ करोड करोड ३८ लाख ८६ हजार ८ सय ४१ रुपैयाँ बचत गर्न सफल भएको छ । उद्योग सञ्चालक समितिले आगामी जेठ ३० गते बस्ने वार्षिक साधारणसभाबाट आर्थिक बर्ष २०७७/७८ को वित्तीय विवरण पारित गर्ने निर्णय गरिसकेको छ । 

    महाप्रबन्धक गोपीकृष्ण न्यौपानेको अगुवाईमा स्पष्ट भिजन, पारदर्शी कारोबार र २४ सै घण्टा उद्योगको लागि समर्पित भावनाको फलस्वरूप उद्योगले हर क्षेत्रमा प्रगति हासिल गर्न सफल भएको उद्योगका कर्मचारीको भनाइ छ । क्रियाशील ट्रेड युनियनसमेतले उद्योग सञ्चालनमा व्यवस्थापनलाई हरतरहले सहयोग गरिरहेका छन् । गैँडाछाप सिमेन्टलाई क्षेत्रीय बजारमा प्रवेश गराउने महाप्रबन्धक न्यौपानेको लक्ष्य छ । 

    “अहिलेसम्म लक्ष्य पूरा गरिरहेका छौं, यदि उत्पादनले साथ दिए बाँकी अढाइ महिनामा ६ लाख बोराभन्दा पनि अझ बढी बिक्री हुने गरी बजार विस्तार भएको छ”, बिक्री विभाग प्रमुख राम जिसीले भन्नुभयो, “गैँडाछाप सिमेण्ट पाइँदैन, पाइए पनि महँगो छ भन्ने सोचलाई चिर्न महाप्रबन्धक न्यौपानेले स्वयम् अधिकृत बिक्रेताका पसल पसलमा पुगेर सिमेन्टको उत्पादन नियमित हुने प्रतिबद्वता जनाउनुभएको थियो, जसको कारण आज हामी लक्ष्य पूरा गर्ने दिशामा अग्रसर भइरहेको छौँ ।”

    बिक्री नीति लागू गरी बिक्रेतालाई इन्सेन्टिभको व्यवस्था गरिएको छ । गैँडाछाप सिमेन्टको गुणस्तरका बारेमा उपभोक्ता सचेतना पनि बढाइएको उद्योगको भनाइ छ । पूर्वाञ्चल र मधेसका जनतामा गैँडा छाप सिमेन्टप्रति विश्वास छ । थोरै मूल्य बढी भए पनि सचेत उपभोक्ताले गैँडा छाप सिमेन्ट नै खोजीखोजी प्रयोग गर्ने गरेको उहाँको दाबी छ । 

    “कच्चापदार्थको मूल्य आकाशिए पनि हामीले प्रति बोरा कारखाना मूल्य ७ सय २३ रुपैयाँ २० पैसालाई कायमै राख्दा अरु उद्योगले समेत मूल्यवृद्धि गर्न सकेका छैनन्, यसबाट उद्योगले केही घाटा व्यहोर्नुपर्ने भए पनि आम उपभोक्ताको लागि फाइदा हुने र समग्र सिमेन्टको मूल्य नियन्त्रणमा समेत महत्वपूर्ण भूमिका रहेको छ”, बिक्री प्रमुख जिसीले भने । 


    images
    images

    Logo