काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो एयर ट्राफिक जामलाई कन्ट्रोल गर्नका लागि उडान समय बढाउने भएको छ । वैशाख १५ देखि तराईमा रहेका सबै विमानस्थल दैनिक १८ घण्टा सञ्चालनमा ल्याइने भएको छ ।
प्राधिकरणका अनुसार यात्रुको चाप बढेकाले कैलालीको धनगढीदेखि झापाको भद्रपुर विमानस्थल दैनिक १८ घण्टा सञ्चालन गर्न लागिएको हो । जेठ २ मा सञ्चालनको तयारीमा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सञ्चालनको तयारी गरिएको छ ।
पछिल्लो समय बढ्दो यात्रुहरुको चापका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक रुपमा घण्टौंसम्म एयर ट्राफिक जाम हुँदा यात्रुहरुले सास्ती बेहोर्दै आइरहेको बेला यस्तो निर्णय गरेको हो । प्राधिकरणले तराईका विमानस्थल जहाँ रात्रिकालीन उडान गर्न मिल्छ ती विमानस्थलमा बिहान ६ बजेदेखि राति १२ बजेसम्म उडान गर्ने भएको हो ।
रात्रिकालीन उडान गर्न मिल्नेमा झापाको चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, नेपालगन्ज र धनगढी विमानस्थलहरु छन् । ती विमानस्थलमा राति १२ बजेसम्म उडानका लागि आवश्यक तयारी पूरा भइसकेको प्राधिकरणले जनाएको छ ।



