काठमाडौं । अरनिको राजमार्ग खण्डअन्तर्गत मध्यपुरथिमि चार दोबाटोमा टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ भने पछाडि सवार गम्भीर घाइते भएका छन् ।
मध्यपुरथिमी नगरपालिका–४ चारदोबाटो चोकमा नयाँथिमिबाट कोरियन अस्पतालतर्फ जाँदै गरेको टिपरले गठ्ठाघरबाट नयाँथिमितर्फ आउँदै गरेको स्कुटरलाई आज बिहान ठक्कर दिँदा स्कुटर चालक काभ्रेपलाञ्चोक बेथानचोक गापा–६ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल ठकुरीगाउँ बस्ने ज्ञानेन्द्र मल्ल ठकुरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए ।
स्कुटर पछाडि सवार म्याग्दी बेनी नपा–४ घर भई हाल चाँगुनारायण नपा–३ झौखेल बस्ने विमल श्रेष्ठ मध्यपुर अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए । दुर्घटनामा संलग्न सवारीसाधन र टिपर चालक रामेछाप दोरम्बा गापा–४ घर भई हाल मध्यपुरथिमि–७ सिद्धिकाली बस्ने तुलबहादुर सापकोटालाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।



