काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आइतबार साँझ ७ः३० बजेसम्म देशभर १० हजार ५ सय ३३ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचन आयोगको सूचना प्रविधि शाखाले ती तथ्याङ्क प्रशोधनको कार्य गरिरहेको छ । सो शाखाका अनुसार प्रणालीमा सङ्कलित विवरणअनुसार पालिकाका अध्यक्ष र प्रमुखमा ९ सय ८७, उपाध्यक्ष र उपप्रमुखमा ५ सय ८ जनाको उम्मेदवारी परेको छ । वडाध्यक्षमा २ हजार ९ सय २१, वडा सदस्यमा ३ हजार ३ सय ३८, महिला सदस्यमा १ हजार ५ सय ७६, दलित महिला सदस्यमा १ हजार २ सय ३ जनाको उम्मेदवारी दर्ता भएको छ ।
आयोगले गत चैत ४ मा स्वीकृत गरेको निर्वाचन कार्यक्रमअनुसार यही वैशाख ११ र १२ गते दुवै दिन बिहान १०ः०० बजेदेखि ५ः०० बजेसम्मका लागि मनोनयनपत्र दर्ता गर्ने समय निर्धारण गरिएको छ । वैशाख १२ गते मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, वैशाख १३ गते उम्मेदवारको विरोधमा उजुरी दिने तय गरिएको छ ।
वैशाख १४ र १५ गते मनोनयनपत्र जाँच गर्ने तथा उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने, वैशाख १५ गते मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने, वैशाख १६ गते उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा वैशाख १७ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यक्रम रहेको छ ।
यसैबीच आज आयोगले विज्ञप्ति प्रकाशन गरी मनोनयन सकिएपछि मात्रै मतपत्र छपाइ गर्न सम्भव नहुने स्पष्ट गरेको छ । निर्वाचन प्रचार अवधिभन्दा १५ दिन अगाडि मतपत्र छपाइ गरिसक्नुपर्ने कानूनी व्यवस्था, मुलुकको भौगोलिक अवस्था, प्राविधिक र सुरक्षा र ढुवानी समेतको अवस्थालाई दृष्टिगत गर्दा मनोनयन दर्तापछि मतपत्र छपाइ गर्न सम्भव नहुने आयोगले जनाएको छ ।



