वैशाख ३० गते हुन गइरकोको स्थानीय तह निर्वाचनको उम्मेदवारी दर्ता आजबाट सुरु भएको छ । उम्मेदवारी दर्ता सुरु गरेकै दिन काठमाडौं महानगरपालीकाको मेयरमा उम्मेदवारी दार्ता गराउनेको संख्या १६ पुगेको छ ।
निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको हो । यसरी उम्मेदवारी दिनेमा पुरुष १२ जना रहेका छन् भने महिला ४ जना रहेका छन् ।
मेयर पदमा उम्मेदवारी दर्ता गराउनेमा कामपाको प्रमुखमा राष्ट्रिय यथार्थवादी पार्टीका तर्फबाट आनन्दराज जोशी, विवेकशील साझा पार्टीबाट समीक्षा बास्कोटा, आधुनिक नेपाल समाजवादी पार्टीबाट सुरेशरत्न बज्राचार्य, नेपाल समावेशी पार्टीबाट रामबहादुर खड्का, मङ्गोल नेशनल अर्गनाइजेसनबाट सीता तामाङ, मौलिक जिरोकिलो पार्टीबाट मनोजराज आचार्य र सचेत नेपाल पार्टीबाट डिल्लीराज राजभण्डारीले उम्मेदवारी दिनुभएको छ ।
यस्तै स्वतन्त्ररुपमा राजन कार्की, रवीकान्त मानन्धर, बालेन्द्र शाह, ज्ञानमाला तामाङ, सुमन सायमी, अमोट महर्जन, विपिनराज वैद्य, सूर्य थापा (श्रेष्ठ) र जेठा महर्जनको उम्मेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै उपमेयरमा १७ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष २३ र वडासदस्य ७ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।



