images
images

प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल


  • 486
    SHARES
  • २०७९ बैशाख ११ गते आइतबार

    प्रसारण लाइन अभावमा विद्युत खेर जान नदिन प्राधिकरणको पहल

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले निर्माण सम्पन्न भएका निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत जतिसक्दो छिट्टो राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पहल सुरु गरेको छ । प्रसारण लाइन अभावमा निजी क्षेत्रका जलविद्युतहरुबाट उत्पादित विद्युत खेर जान नदिन निर्माणाधीन प्रसारण लाइनको काम तत्काल सम्पन्न गरिने प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा योजना अनुगमन तथा सूचनाप्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक प्रदीपकुमार थिके, प्रसारण लाइन निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख तारा प्रधान, ग्रिड विकास विभागका निर्देशक दुर्गानन्द बडियत, विद्युत् व्यापार विभागका निर्देशक प्रबल अधिकारीको टोलीले शनिबार आयोजनास्थलको निरीक्षण गरेको हो । 

    टोलीले प्राधिकरणले लमजुङमा निर्माण गरिरहको दोर्दी करिडोर १ सय ३२ केभी प्रसारण लाइन, न्यादी हाइड्रोपावरको ३० मेगावाटको न्यादी, हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिवर्टी इनर्जीको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’, दोर्दीखोला जलविद्युत् कम्पनीको १२ मेगावाटको दोर्दी–१, जलविद्युत् आयोजनाको भ्रमण गरेको थियो । 

    टोलीले ति आयोजनाको हालसम्मको निर्माण प्रगति र सम्पन्न हुने तालिकालगायतका बारेमा सम्बद्ध व्यक्तिसँग छलफल गरी जानकारी लिएको थियो । कार्यकारी निर्देशक घिसिङले आयोजना जतिक्दो छिट्टो निर्माण सम्पन्न गर्न आग्रह गर्दै प्रसारण लाइन अभावमा विद्युत् जोड्न नसकी खेर फाल्नुपर्ने अवस्था आउन नदिइने बताए । 

    प्राधिकरणले दोर्दी खोलाका जलविद्युत् आयोजनाको विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नका लागि ११ किलोमिटर कीर्तिपुर–उदीपुर १ सय ३२ केभी डबल सर्किट प्रसारण लाइन (दोर्दी करिडोर) र कीर्तिपुरमा सवस्टेसन निर्माण सम्पन्न गरेको थियो । गत वर्ष असार १ मा दोर्दी खोलामा आएको बाढीले आयोजनाका ३३ टावरमध्ये चार बगाएको थियो ।

     बाढीले निर्माणको अन्तिम चरणमा पुगेका निजी क्षेत्रका जलविद्युत् आयोजनामा पनि ठूलो क्षति पुर्याएको थियो । अहिले बाढीले बगाएका प्रसारण लाइनका ४ टावर र जलविद्युत् आयोजनाको पुनःनिर्माण भइरहेको छ । ४ टावरमध्ये दुईको जग हालिएको, एक खडा गरिएको छ भने दुईको जग हाल्ने काम भइरहेको छ । यो काम यही वैशाखभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । 

    “निर्माण सम्पन्न भइसकेको प्रसारण लाइन बाढीले बगायो भने जलविद्युत् आयोजनामा ठूलो क्षति पुर्यायो, अहिले प्रसारण लाइन तथा जलविद्युत् आयोजनाको पुनःनिर्माण तथा मर्मतसम्भार भइरहेको छ, यो काम सम्पन्न गर्न बढीमा दुई महिना लाग्ने देखिएको छ, त्यसैले जलविद्युत् आयोजनाको बाँकी काम सक्ने बेलासम्म प्रसारण लाइन पनि तयार हुन्छ”, उनले भने । 

    एकले अर्कोलाई आरोप लगाउनेभन्दा पनि सबै पक्ष मिलेर जतिसक्दो छिट्टो काम सम्पन्न गर्न तथा प्रसारण लाइन छैन भन्दै काममा ढिलाइ नगर्न तथा ठेकेदारले प्रसारण लाइनको संवेदनशीलतालाई ध्यान दिएर श्रमिक थपेर निर्माण तत्काल सम्पन्न गर्न उनले आग्रह गरे । 

    सो करिडोरको आयोजनामध्ये दोर्र्दी–१ जलविद्युत् आयोजनाको काम छिट्टै सम्पन्न हुने र माथिल्लो दोर्दी एको केही समय लाग्ने देखिएको उनले बताए । दोर्दी खोला आयोजनाको व्यवस्थापनले सम्पूर्ण परीक्षण सम्पन्न गरी २० दिनभित्रमा विद्युत् उत्पादन सुरु गर्ने लक्ष्यका साथ काम भइरहेको जानकारी गराइएको थियो । 

    आयोजनाको विद्युत् प्रवाहका लागि वैकल्पिक व्यवस्थाअन्तर्गत हाल सञ्चालनमा रहेको मध्यमस्र्याङ्दी विद्युत्गृहको स्वीचयार्डमा जोडिने छ । यसका लागि उदीपुर–मार्कीचोक (तनहुँ) २ सय २० केभी प्रसारण लाइनअन्तर्गत करिब ६ किलोमिटर तार तान्ने काम भइरहेको छ । ठेकेदारले यो काम वैशाखभित्र सक्ने प्रतिबद्धता जनाएको छ । त्यसपछि स्वीचयार्डसम्म लैजान आवश्यक पर्ने १ सय ३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भइसकेको छ । 

    उदीपुर–मार्कीचोक (तनहुँ) २ सय २० केभी प्रसारण निर्माण सम्पन्न नभएसम्मका लागि २५ मेगावाट जडित क्षमताको माथिल्लो दोर्दी ‘ए’ र १२ मेगावाटको जडित क्षमताको दोर्दी–१ आयोजनाको विद्युत् पनि मध्यमस्र्याङद्दीको स्वीचयार्डमै जाडिने छ ।  “अहिलेको ऊर्जा सङ्कटको प्रसारण लाइन अभावमा २७ मेगावाट र १२ मेगावाट विद्युत् जोड्न नसक्ने अवस्था आउन दिनुहुँदैन, यसमा मुख्य रुपमा ठेकेदारले गम्भीर भएर काम गरिदिनुपर्यो”, कार्यकारी निर्देशक घिसिङले ठेकेदारलाई आग्रह गर्दै भने । 

    बुटवल पावर कम्पनी सम्बद्ध न्यादी हाइड्रोपावरले निर्माण सम्पन्न गरेको ३० मेगावाट जडित क्षमताको न्यादी हाइड्रोपावर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । आयोजनाले शुक्रबारबाट परीक्षण उत्पादन सुरु गरेको छ । 


    images
    images

    Logo