काडमाडौं । आगामी जेठ २ गते अर्थात् बुद्ध जयन्तीका दिन जजिरा एयरलाइन्सको जहाजले कुवेत–भैरहवा सिधा जोड्ने भएको छ । उक्त उडानका लागि आवश्यक गृहकार्य तयारी भइरहेको छ । बिहीबारदेखि सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट जजिरा एयरलाइन्स पहिलो व्यावसायिक उडान भर्ने विदेशी एयरलाइन्स हुने भएको छ ।
आगमी जेठ २ गते बुद्ध जयन्तीका दिन उक्त एयरलाइन्सले कुवेतबाट सिधै गौतमबुद्ध विमानस्थलसम्म उडान भर्ने अनुमति पाएको छ । यसैगरी उक्त एयरलाइन्सले सोमबार, बुधबार र शुक्रबार गरी हप्तामा तीन दिन उडान गर्ने अनुमति लिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीपकुमार अधिकारीले जानकारी दिए ।
प्राधिकरणले गौतमबुद्ध विमानस्थलबाट जेठ २ गते औपचारिकरूपमा अन्तर्राष्ट्रिय उडान थाल्ने कार्यक्रम तय गरेको छ । सोही दिनदेखि व्यावसायिक उडान गर्न प्राधिकरणमा हालसम्म जजिरा एयरले मात्र अनुमति लिएको बताइएको छ । यसैगरी अन्य वायुसेवा कम्पनीले पनि उडानका लागि चासो देखाइरहेको महानिर्देशक अधिकारीले बताए। उनले भने, “भैरहवाबाट जजिराले पहिलो अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाएको छ, अन्य एयरलाइन्सले पनि उडानका लागि चासो देखाइरहेका छन् ।” भैरहवाबाट कुवेत जानका लागि नेपालबाट ३० जनाले टिकट बुकिङ गरिसकेका छन् ।
प्राधिकरणले सो विमानस्थलबाट उडान गर्ने एयरलाइन्सलाई विशेष छुट दिने घोषणासमेत गरेको छ । त्यसका लागि प्राधिकरणले समितिसमेत बनाइसकेको छ । समितिले रिपोर्ट बुझाएपछि कतिसम्म छुट दिने र कहिलेसम्म दिने भन्ने विषयको निर्णयमा पुगिने महानिर्देशक अधिकारीको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि विधिवतरूपमा सञ्चालनमा आएको छ । विमानस्थलको पुरानो एक हजार ५ सय मिटर लामो धावनमार्ग बन्द गरेर अन्तर्राष्ट्रियतर्फको तीन हजार ५ सय मिटर लामो नयाँ धावनमार्ग सञ्चालन गरिएको छ । सो विमानस्थलमा न्यारोबडी र वाइडबडी दुवै जहाजले उडान र अवतरण गर्नेछन् । यो विमानस्थलमा यान्त्रिक परीक्षण उडान सम्पन्न भइसकेको छ ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुआतमा निर्माण थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको लापरवाहीले रोकिएको थियो । पछिल्लोपटक सन् २०२० को मार्चसम्म निर्माण सक्ने योजना रहे पनि कोभिड–१९ महामारीका कारण करिब पाँच वर्षपछि विमानस्थल व्यावसायिकरूपमा सञ्चालनमा आएको हो । विमानस्थल चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन गु्रपले निर्माण गरेको हो ।
एसियाली विकास बैंक (एडिबी) को सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाको पहिलो चरणमा करिब ११ अर्ब खर्च भएको प्राधिकरणले जनाएको छ । कूल ४५ मिटर चौडाइ र तीन हजार ५ सय मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिकरूपमा सञ्चालनमा आउँदा हालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घट्ने विश्वास गरिएको छ ।



