काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनामा सुन आयातका लागि मुलुकबाट रु २८ अर्ब ५४ करोडभन्दा बढी नेपाली रुपैयाँ बाहिरिएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनाको विवरणानुसार सुन आयातका लागि नेपालबाट २८ अर्ब ५४ करोड ९० लाख ४ हजार रुपैयाँ बाहिरिएको हो ।
तथ्याङ्कानुसार नौ महिनाको अवधिमा मुलुकमा ४ हजार किलोग्रामभन्दा बढी सुन आयात भएको छ । सुनको आयातबाट सरकारले ३ अर्ब ४८ करोड ३ लाख ३० हजार रुपैयाँ बराबरको राजस्व सङ्कलन गरेको छ ।
सार्वजनिक विवरणानुसार नेपालमा मुख्य युनाइटेड अरब इमिरेट्स (युएई) र टर्कीबाट सुन भित्रिने गरेको देखिन्छ । चालु आर्थिक बर्षको पहिलो नौ महिनामा सबैभन्दा बढी युएईबाट सुन आयात भएको विभागको तथ्याङ्क छ । युएईबाट ३२ लाख ३३ हजार ग्राम सुन आयातका लागि २२ अर्ब ६२ करोड २ लाख ५४ हजार रुपैयाँ बाहिरिएको छ भने सरकारले २ अर्ब ७४ करोड ८० लाख ५४ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ । युएईपछि टर्कीबाट ५ अर्ब ९२ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको ८ लाख ६१ हजार ५ सय ग्राम सुन आयात भएको छ ।
केन्द्रीय बैंकले विलासिताका वस्तु आयातमा रोक लगाएका कारण सुन आयातमा यसको प्रत्यक्ष असर परेको छ । विभागका अनुसार पछिल्लो एक महिनामा ५० हजार ग्राम सुन आयात भएको छ । अहिले आयातमा कडाइ गरिए पनि अघिल्लो आवको तुलनामा चालु आर्थिक बर्षको नौ महिनाको सुनको आयात भने बढेको देखिन्छ । गत आर्थिक बर्षको चैत मसान्तसम्म २ हजार ७ सय ६० किलोग्राम सुन आयात भएकामा चालु आर्थिक बर्षको सोही अवधिसम्म आयात करिब ४७ प्रतिशतले बढेर ४ हजार किलोग्रामभन्दा बढी पुगेको देखिन्छ ।



