काठमाडौं । कृषि विकास बैंकले १ अर्ब ९० करोड नाफा कमाएको छ । चालु आर्थिक वर्षको चैतसम्म बैंकले उक्त नाफा कमाएको हो । यो नाफा अघिल्लो वर्षको भन्दा झन्डै २० करोड रुपैयाँ कम हो ।
बैंकको नाफा घट्नुको पछाडि इम्पेरिमेन्ट चार्जमा छुट्ट्याएको रकम र्नै मुख्य कारण रहेको छ । बैंकले यो अवधिमा इम्पेरिमेन्ट चार्जबापत ८२ करोड रुपैयाँ छुट्टयाएको छ । अघिल्लो वर्ष यस्तो रकम २४ करोड मात्रै थियो ।
यो वर्ष बैंकले निक्षेपमा सुधार गर्न नसके पनि कर्जा विस्तार भने बढाएको छ । निक्षेप २ अर्ब रुपैयाँले घटेर १ खर्ब ६० अर्ब हुँदा कर्जा लगानी २७ अर्बले बढेर १ खर्ब ७७ अर्ब पुगेको छ ।
यो वर्ष बैंकको निष्क्रिय कर्जा अनुपात घटेको छ । निष्क्रिय कर्जा अनुपात घट्दा पनि बैंकको इम्पेरिमेन्ट चार्ज भने बढेको छ । बैंकको आधारदर ७.४८ प्रतिशतबाट बढेर ८.२८ प्रतिशत पुगेको छ ।



