काठमाडौं । छैटौं भक्तपुर सांस्कृतिक, पर्यटन तथा व्यापार मेला सकिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा चैत २४ गतेदेखि सञ्चालित उक्त मेला ११ दिनपछि सकिएको हो । महोत्सवमा करिब ४ लाख अवलोकनकर्ता आएको र झन्डै ५ करोड रुपैयाँ बराबरको कारोबार भएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए ।
यो मेला औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डको संयुक्त आयोजनामा सम्पन्न भएको थियो । मेलामा विभिन्न खेल सामाग्री, बच्चाहरुको लागि बाल उद्यान जस्ता सुविधा थिए । हरेक दिन राष्ट्रिय स्तरका कलाकारहरुले प्रस्तुती दिएको मेलाका संयोजक दीपक थापाले बताए ।
मेलामा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्रीहरु, खाद्यान्नका सामाग्रीहरु विभिन्न प्रकारका लत्ताकपडाहरू, जुत्ताहरू, कृषि तथा हस्तकलाका सामाग्रीका स्टलहरू रहेका थिए । मेलामा उपभोक्तालाई चाहेका हरेक सामाग्रीहरु सहज र सुपथ मूल्यमा उपलब्ध गराइएको थियो ।
मेलामा फेशन तथा नृत्य, औद्योगिक उत्पादनको प्रदर्शनी, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, ग्रामिण प्रविधि सम्बन्धी गतिविधि, अटो मोवाइल प्रदर्शनी, विद्युतीय मेशिन कृषि औजारको प्रदर्शनी समेत गरिएको थियो ।



