images
images

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम थपिँदै


  • 318
    SHARES
  • २०७९ बैशाख ५ गते सोमबार

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एटिएम थपिँदै

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रिय वाणिज्य बैंकको एटिएम मेसिन थपिने भएको छ । अनअराइभल भिसामा नेपाल आउने विदेशी पर्यटकहरुका लागि विद्युतीय भुक्तानीमा समस्या देखिएपछि राष्ट्रिय वाणिज्य बैंकले एटिएम थप्न थालेको विमानस्थल कार्यालयले जनाएको छ । 

    विमानस्थलको अनअराइभल कक्षमा आज नै राष्ट्रिय वाणिज्य बैंक एटिएम मेसिन जडान गरिने तयारीअनुसार काम भइरहेको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले जानकारी दिए। उनका अनुसार यसअघि विमानस्थलमा प्रभु बैंकको एउटा एटिएम मेसिन मात्रै भएको र उक्त मेसिनले मास्टर कार्ड रिड गर्न छाडेपछि समस्या आएको थियो । 

    अनअराइभल भिसाका लागि विद्युतीय भुक्तानीमा देखिएको समस्या समाधानका लागि यात्रु प्रस्थान कक्षमा बैंकको एटिएम राखिने योजनाअनुसार काम भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । 

    विमानस्थलमा विद्युतीय भुक्तानी प्रणालीमा समस्या देखिएपछि विमानस्थलको अध्यागमन कार्यालयले एक सूचना जारी गर्दै पर्यटकहरुलाई साथमा २ सय डलर बोकेर आउन आग्रह गरेको थियो । धेरै भीडभाड तथा प्राविधिक समस्याका कारण रकम ननिस्कने समस्या देखिएपछि नगद बोक्न आग्रह गर्दै कार्यालयले सूचना प्रकाशित गरेको थियो । उक्त सूचनाको चौतर्फी आलोचना भएपछि विमानस्थलले सुधारका लागि तयारी गर्नुका साथै एटिएमसमेत थप गर्न थालेको हो ।


    images
    images

    Logo