images
images

स्वाथ्यमन्त्रीले २ महिनादेखि रोके वीपी प्रतिष्ठानको फाइल, तलब नपाउने अवस्थामा कर्मचारी 


  • 394
    SHARES
  • २०७८ चैत्र ३० गते बुधबार

    स्वाथ्यमन्त्रीले २ महिनादेखि रोके वीपी प्रतिष्ठानको फाइल, तलब नपाउने अवस्थामा कर्मचारी 

    काठमाडौं । राजनीतिक खिचातानीका कारण समस्या रहेको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्को संकटको अवस्थामा पुगेको छ । बजेटको निर्माण गर्ने प्रतिष्ठानको कार्यकारिणी समिति अपुरो हुँदा त्यहाँका २ हजार ५ सय कर्मचारीलाई तलब खुवाउनै  नसक्ने अवस्था आउन लागेको हो । प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बस्ने अवस्था नहुँदा यो अवस्था सिर्जना हुन लागेको हो । 

    प्रतिष्ठान ऐन २०४९ ले कार्यकारिणी समितिलाई बजेट बनाउने र त्यससलाई प्रतिष्ठानकै सर्वोच्च समिति सिनेटमा पेश गरी पारित गर्ने व्यवस्था गरेको छ । तर, बैठकका लागि आवश्यक न्युनतम सदस्य समेत उपस्थित हुने अवस्था नभएपछि कार्यकारिणी समितिको बैठक नै बस्न नसक्ने अवस्था छ । सोही कारण लामो समयदेखि समितिको बैठक बस्न सकेको छैन ।

    ऐनको व्यवस्था अनुसार प्रतिष्ठानको कार्यकारिणी समिति उपकुलपतिको अध्यक्षतामा ७ सदस्यीय हुनेछ । समितिमा शिक्षाध्यक्ष (रेक्टर), अस्पताल निर्देशक, स्वास्थ्य मन्त्रालयबाट पठाएका एकजना र विभागीय प्रमुखमध्येबाट उपकुलपतिको सिफारिसमा सहकुलपतिले नियुक्त गर्ने २ जना सदस्य र रजिष्ट्रार सदस्य सचिव रहने व्यवस्था छ । 

    तर, अहिले सो समितिमा ४ जना मात्रै सदस्य छन् । उपकुलपति डा। ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष प्रा। डा। गुरुप्रसाद खनाल, अस्पतालका निर्देशक गौरीशंकर साह र स्वास्थ्य सेवा विभागका महानिर्देशक समेत रहेका दीपेन्द्ररमण सिंह अहिले सदस्य छन् । सदस्य सचिव सहित ३ सदस्य पद भने अहिले रिक्त छ । स्वास्थ्य मन्त्रालयका प्रतिनिधिको रुपमा रहेका सिंह समेत बैठकमा विरलै जान्छन् । सोही कारण बैठक बस्न कोरम नै नपुग्ने अवस्था छ । 

    किन रिक्त भयो पद ?

    कार्यकारिणी समितिको पदेन सदस्यको रुपमा रहने रजिष्ट्रार पद अहिले खाली छ । तात्कालिन रजिष्ट्रार मोहनचन्द्र रेग्मीले गत भदौमै राजीनामा दिएपछि प्रतिष्ठान रजिष्ट्रारविहीन बनेको हो । उनको स्थानमा अहिलेसम्म सरकारले कसैलाई पनि नियुक्त गर्न सकेको छैन । 

    उता विभागीय प्रमुख मध्येबाट उपकुलपतिको सिफारिसमा स्वास्थ्यमन्त्रीले नियुक्त हुने २ जना सदस्यको फाइल समेत २ महिनादेखि स्वास्थ्यमन्त्री विरोध खतिवडाको टेबलमा अड्किएर बसेको छ । उपकुलतिको सिफारिस बमोजिम स्वास्थ्यमन्त्री खतिवडा समितिको सदस्य नियुक्त गर्न तयार छैनन् । उपकुलपति नै हटाउने प्रयास गरिरहेका कारण उनको सिफारिसलाई स्वास्थ्यमन्त्रीले रोकेका हुन् । यसो गर्दा संस्थामा ३ जना सदस्य रिक्त अवस्थामा पुगेको हो । 

    बैठक बस्न नसक्नु पछाडीको राजनीतिक कारण

    बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्र अहिले राजनीतिक खिचातानी चरम उत्कर्षमा छ । खासगरी रेक्टर खनालका पक्षधरहरु उपकुलपति गिरीलाई हटाएर खनाललाई नै उपकुलपति बनाउने प्रयासमा छन् । तात्कालिन केपी ओली नेतृत्वको सरकारले उपकुलपति बनाएका कारण वर्तमान सरकार पनि गिरीको निरन्तरताको पक्षमा छैन । सोही कारण गिरीविरुद्ध छानबिन समिति गठन गरेर हटाउने तयारी सरकारको छ । तर, अदालतको आदेशका कारण यो प्रक्रिया रोकिँदै आएको छ । 

    त्यही समस्या कार्यकारिणी समितिमा समेत छ । समितिमा रहेका शिक्षाध्यक्ष खनाल र सरकारका प्रतिनिधि दीपेन्द्ररमण सिंह उपकुलपति गिरीको पक्षमा छैनन् । यसो हुँदा कार्यकारिणी समिति बैठक बस्नै नसक्ने र बसे पनि कुनै पनि निर्णय नहुने अवस्थामा छ ।

    त्यसो त, कार्यकारिणी बैठक समयमा नबस्दा  उपकुलपति अप्ठ्यारोमा पर्ने भएकोले विपक्षीहरुले बैठक बस्नै नसक्ने अवस्था बनाउन चाहेको बुझाइ गिरी पक्षको छ  । त्यही समस्या हटाउन उपकुलति गिरीले २ जना रिक्त सदस्य नियुक्ति अघि बढाएका थिए । ती सदस्य नियुक्त हुन सकेमा कार्यकारिणी समितिले सहज रुपमा निर्णय गर्नसक्ने उनको बुझाइ थियो । तर, स्वास्थ्यमन्त्रीले फाइल रोकिदिएपछि उनी थप अप्ठ्यारोमा परेका छन् । 

    केही दिन अघि मात्रै उनले सो प्रक्रिया अघि बढाउन ध्यानाकर्षण गराउँदै स्वास्थ्यमन्त्रीलाई अर्को पत्र समेत पठाएका थिए । तर, स्वाथ्यमन्त्री खतिवडाले अहिलेसम्म सिफारिस बमोजिम सदस्य नियुक्त गरेका छैनन् । उपकुलपतिले सिफारिस गरिएको नाम स्वीकृत गर्दा समितिमा आफू कमजोर हुने भएकोले २ जना सदस्यको नियुक्ति रोकिएको गिरी पक्षको बुझाइ छ । कार्यकारिणी समितिको यो समस्याका कारण बजेट निर्माणमा ढिलाइ हुँदै आएको छ । 

    त्यसो त, सिनेट बैठक नबस्न अदालतले दिएको आदेशका कारण बजेट पारित हुने अवस्था अहिले छैन । समयमा बजेट पास नभए पनि कार्यकारिणी समितिले पेश्की खर्च गर्ने निर्णय गर्न सक्थ्यो । समितिको निर्णयबाट अघिल्लो वर्षको बजेटको एक चौथाइ रकमसम्म पेश्की खर्च गर्ने निर्णय सो समितिले गर्नसक्ने व्यवस्था छ । तर, समितिले पूर्णता नपाउँदा यो निर्णय गर्न समेत नसक्ने अवस्था छ । 

    अब पनि बैठक बस्न नसके तलब नै नपाउने अवस्था रहेको भन्दै प्रतिष्ठानका डाक्टर र कर्मचारीहरु अहिले निराश छन् । अहिले अस्पतालमा स्थायी, अस्थायी, करार र आउटसोर्सिङ समेत गरी करिब २ हजार ५ सय जना कर्मचारी कार्यरत छन् ।


    images
    images

    Logo