images
images

वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी


  • 405
    SHARES
  • २०७८ चैत्र २९ गते मंगलबार

    वैशाखमा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्नेः मन्त्री चौधरी

    काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले आउँदो वैशाखसम्ममा काठमाडौँको धारामा मेलम्चीको पानी पुग्ने बताएका छन् । 

    मेलम्ची नदीको पानी आज पुनः पथान्तरण गरी उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । मन्त्री चौधरीले १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरेका थिए । 

    गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति पुगेको थियो । सरकारले यही चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौँ पुर्याउने घोषणा गरेको थियो । पानी पठाउन आज सुरु गरिए पनि काठमाडौँमा उपलब्ध गराउन अझै दुई साता लाग्नसक्ने बताइएको छ । गत वर्ष चैत १७ गतेदेखि राजधानीमा मेलम्ची खानेपानी आयोजनाको पानी झार्न थालिएको थियो । दोस्रो चरणअन्तर्गत गत वैशाखमा १७ करोड लिटर पानी काठमाडौंमा वितरण थालिएको थियो ।

    परीक्षणका लागि गत असार १ गते मेलम्ची आयोजना विकास समितिले सुरुङमा पानी बन्द गरेको थियो । त्यही दिन मेलम्ची नदीमा बाढी आएसँगै मलेम्चीको पानी वितरण प्रक्रिया अवरुद्घ बनेको थियो । सुरुङमा प्रतिसेकेन्ड २ सय ६५ लिटर पानी हालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले बताए । 
     

    सो अवसरमा उनले सरकारी लक्ष्यअनुसार चैत मसान्तभित्रै पानी सुरुङमा हाल्न पाएकामा खुसी व्यक्त गर्दै सरोकारवालाप्रति आभार प्रकट गरे । मन्त्री चौधरीले स्थायी रुपमा पानी पठाउन एसियाली विकास बैंकको टोलीले गरेको भौगर्भिक अध्ययनको रिपोर्ट प्रतिवेदन पेस भएपछि कार्ययोजना बनाइने बताए ।  

    मेलम्चीको पानी काठमाडौँ लगेबापत रोयल्टीको र बिक्री मूल्यको प्रतिशतमा मुनाफा बाँडफाँड बापतको २५ प्रतिशत सम्बन्धित गाउँपालिकालाई उपलब्ध गराउने व्यवस्थाका लागि पनि ठोस पहल गर्न उनले सरकारसँग आग्रह गरे ।  

    कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री नीमा लामा, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल, मन्त्रालयका सहसचिव तिरेसप्रसाद तिवारी, प्रमुख जिल्ला अधिकारी बेदनिधि खनाल, गाउँपालिका अध्यक्ष नीमाग्याल्जेन शेर्पालगायतको उपस्थिति थिए ।

     


    images
    images

    Logo