काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सरकारले लगानीको सुरक्षा गर्ने बताएका छन् ।नेपालका यातायात व्यवसायीहरुको छाता सङ्गठन नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको छैटौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै उनले कुनै पनि व्यवसायलाई प्रोत्साहन, संवद्र्धन र सुरक्षा गर्ने दायित्व सरकारको भएको बताए । “नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने व्यवसायीलाई राज्यले सम्मान गर्नुपर्छ”, उनले भने ।
गृहमन्त्री खाँणले सडक दुर्घटनाका कारण बर्सेनि हजारौँ नागरिकले अकालमा ज्यान गुमाएको भन्दै सडक दुर्घटना न्यूनीकरणमा यातायात क्षेत्र गम्भीर हुनुपर्ने बताए । सुरक्षित यात्राको व्यवस्था कसरी गर्न सकिन्छ त्यसतर्फ यातायात क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो ।
मन्त्री खाँणले यात्रुलाई सुरक्षितरूपमा गन्तव्यस्थलसम्म पु¥याउने जिम्मा यातायात क्षेत्रको भएको बताउँदै यातायात क्षेत्रलाई परेको समस्या समाधानका लागि सरकार गम्भीर रहेको उल्लेख गरे । उनले राम्रो कन्डिसन भएका सवारी साधनलाई मर्मत गरेर सञ्चालन गर्नसके देशको अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले बागमती प्रदेशको यातायात कार्यालयलाई प्रविधिमैत्री बनाउँदै लगिएको उल्लेख गर्दै चार महिनाभित्र सवारी लाइसेन्स प्राप्त गर्नेगरी मन्त्रालयले कामलाई अगाडि बढाएको बताए । उनले उपत्यकामा सञ्चालित ट्याक्सी मिटरमा हिँड्न नमाने कारबाही गर्ने बताए ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्यले अर्बौं रुपैयाँ लगानी रहेको नेपालको यातायात क्षेत्रलाई राज्यले उपेक्षा गरेको बताए । इन्धन र इन्जिनको मूल्यवृद्धि हुँदा यातायात क्षेत्रको भाडा समायोजन हुन नसक्नु दुःखद भएको उनको भनाइ थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले सरकारले सडक यातायातलाई उपेक्षित गरेको आरोप लगाए । महासङ्घका पूर्वअध्यक्ष चोपनारायण श्रेष्ठ, सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ, यातायात मजदुर नेताहरु भीमज्वाला राई, रामचन्द्र कार्की लगायतले १० खर्ब लगानी रहेको नेपालको यातायात क्षेत्रलाई सरकारले सहयोग गर्नुपर्ने बताए ।
आज उद्घाटन भएको छैटौँ महाधिवेशनले नयाँ नेतृत्वसमेत चयन गर्नेछ । महासङ्घको भोलि ललितपुरको गोदावरी सम्मेलन केन्द्रमा बन्दसत्र र पर्सि निर्वाचनको कार्यक्रम रहेको महासचिव एवं प्रवक्ता सरोज सिटौलाले जानकारी दिए ।
महासङ्घमा देशभरका २ सय ५० भन्दा बढी कम्पनी तथा १ हजारभन्दा बढी महाधिवेशन प्रतिनिधिको सहभागिता रहने महासचिव सिटौलाले बताए ।



