कानठमाडौं । नेपाल बैंकर्स संघले केही समय विलासी वस्तुकाे आयातका लागि प्रतितपत्र (एलसी) नखोल्ने निर्णय गरेका छन् । आइतबार बसेको संघको बैठकले केही समयलाई अत्यावश्यक बाहेकका वस्तुहरुको एलसी नखोल्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको मौखिक निर्देशनअनुसार सङ्घले सो निर्णय गरेको हो । सङ्घले निजी गाडी, चिनी, चकलेट, चुइगम, ड्राई फुड, फर्निचर, चुरोट, रक्सी, सजावटका सामग्री, पफ्र्युम, काठका सामग्री, मोबाइललगायत सामग्री आयातका लागि एलसी नखोल्ने निर्णय गरेको छ ।
यसअघि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गर्दै विभिन्न ४७ वटा वस्तुको आयातमा ५० प्रतिशतदेखि शत्प्रतिशत मार्जिनको व्यवस्था लागू गरेको थियो । यस्तैगरी, गत सोमबार राष्ट्र बैंकले २७ वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई बोलाएर गाडी लगायतका वस्तु आयातको एलसी रोक्नलाई निर्देशन दिएको थियो । राष्ट्र बैंकको निर्देशनअनुसार सबै बैंकले गाडी लगायतका वस्तुको एलसी खोल्न बन्द गरिसकेका छन् ।



